प्रयागराज, उत्तर प्रदेश – भारतको प्रयागराजस्थित गंगा, जमुना र सरस्वती नदीको संगममा आजदेखि महाकुम्भ मेला सुरु भएको छ। पौष पूर्णिमाको पहिलो स्नानको अवसरमा करिब १ करोड भक्तजनले पवित्र स्नान गर्ने अनुमान गरिएको छ।

४५ दिनसम्म चल्ने यस महाकुम्भमा भक्तजनले त्रिवेणी संगममा स्नान गर्दै कल्पवास आरम्भ गर्नेछन्। मेला क्षेत्रलाई व्यवस्थित बनाउन करिब १२ किलोमिटरमा फैलिएको घाट र ४ हजार हेक्टर खुला भूमिलाई अस्थायी शहरका रूपमा रूपान्तरण गरिएको छ। यहाँ १ लाख ५० हजार टेन्ट, ३ लाख भान्छा कोठा, १ लाख ४५ हजार बाथरूम, र ९९ वटा पार्किङ लट निर्माण गरिएको छ।

महाकुम्भको सुरक्षित सञ्चालनका लागि ६० हजार सैनिक र सुरक्षाकर्मी खटाइएको छ। संगम क्षेत्रमा सवारीसाधनलाई रोक लगाइएकोले भक्तजन १०-१२ किलोमिटर पैदल हिँडिरहेका छन्।

भक्तहरूको आवागमनलाई सहज बनाउन उत्तर प्रदेश यातायात निगमले ७ हजार बस सञ्चालन गरेको छ भने १३ हजार रेलमार्ग सञ्चालनमा छन्। साथै, हजारौं विशेष रेलहरू पनि चलिरहेका छन्।

१४४ वर्षमा दुर्लभ खगोलीय संयोजनको समयमा भइरहेको यो महाकुम्भ मेला महाशिवरात्रि (फागुन १४) सम्म चल्नेछ। महाकुम्भ हरेक १२ वर्षमा आयोजना हुने ऐतिहासिक धार्मिक पर्व हो, जसले धार्मिक र सांस्कृतिक महत्त्व बोकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय