
नेपालको तराई क्षेत्रमा अवस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिर लाखौं श्रद्धालु भक्तजनहरूको आस्था र विश्वासको केन्द्र हो। मंसिरमा लाग्ने पञ्चवर्षीय गढीमाई मेलापछि माघे संक्रान्तlको मेलामा पनि यहाँ श्रद्धालुहरूको भीड लाग्छ। यस वर्ष पनि माघे संक्रान्तीको मेलामा हजारौं पशु बलि दिइँदा परेवा उडाउने परम्परागत भाकलले मेलाको धार्मिक महत्त्व थप उजागर गरेको छ ।
गढीमाई मन्दिरको बलि परम्परा सन्तान प्राप्तिको विश्वाससँग गासिएको छ। विभिन्न समस्याका कारण मंसिरमा बलि दिन नपाएका श्रद्धालुहरूले माघे संक्रान्तिको मेलामा आफ्नो भाकल पूरा गरे। देश तथा विदेशबाट आएका भक्तजनहरूले बोका, कुखुरा, मुसा र बंगुर बलि चढाउँदै आफ्नो मनोकामना पूरा भएको धन्यवाद दिए। गढीमाई मन्दिरको सिमानाभित्र बलि चढाउने परम्परा प्राचीन कालदेखि चलिआएको छ । श्रद्धालुहरूले बलिसँगै परेवा उडाएर आफ्नो भाकल पूरा गर्ने परम्परा पनि यस मेलाको विशेषता हो। गढीमाईमा आउने भक्तजनहरूको विश्वास छ कि गढीमाईको आशीर्वादले उनीहरूको सन्तान सम्बन्धी समस्या समाधान हुन्छ।



मन्दिरमा सन्तानका लागि भाकल गर्नेहरू सन्तान प्राप्त भएपछि बलि दिन विशेष ध्यान दिन्छन्। यसपटक पनि मेलामा अधिकांश भक्तजनहरूका काखमा बालबालिका र साथमा बलिका लागि बोका देखिन्थे। गढीमाई मेला केवल धार्मिक आस्थाको केन्द्र मात्र होइन, यो स्थानीय र क्षेत्रीय अर्थतन्त्रलाई चलायमान बनाउने माध्यम पनि हो। मेलामा व्यापार-व्यवसायले फस्टाउने गरेको व्यापारीको बुझाइ छ। खानपान, यातायात, पसल र होटल व्यवसायबाट स्थानीय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुग्छ। गढीमाई मन्दिरको बलि परम्परा पाँच वर्षमा एक पटक मंसिर महिनामा विशेष रूपमा गरिन्छ। माघे संक्रान्तिको मेलामा पनि बलि र भाकल जारी रहने परम्पराले मन्दिरको धार्मिक महत्त्वलाई थप बलियो बनाएको छ। विश्वभर प्रसिद्ध यो मेलाले गढीमाईलाई धार्मिक पर्यटनको केन्द्र बनाएको छ। तर, यसले पशु अधिकारका मुद्दाहरूलाई पनि सतहमा ल्याएको छ। पशु बलिको परम्परालाई लिएर विवाद भइरहे पनि आस्थाको यो मेला अहिले पनि लाखौं मानिसहरूको भावनासँग जोडिएको छ।