
काठमाडौं । इजरायल र प्यालेस्टिनीबीच युद्धविरामको सहमति भएको छ । युद्धविरामको सहमतिसँगै विगत १५ महिना देखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको छ ।
अमेरिकाको बर्हिगमन जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्तथामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएका हुन् । युद्धविराम प्रस्तावमा हस्ताक्षर गर्दै गाजा युद्धविराम र बन्धक रिहाई सहमति भएको छ । सहमतिको कार्यान्वयन ४८ देखि ७२ घण्टा भित्र लागु हुने बताइएको छ ।



सम्झौतासँगै हमासले पहिलो चरणमा ३४ जना इजरायली बन्धक रिहा गर्दैछ । युद्धविरामको १६औं दिनमा सम्झौताको दोस्रो र तेस्रो चरणको लागि वार्ता सुरू हुनेछ ।
सन् २०२३ अक्टोबरमा हमासले इजरायलमा आक्रमण गरेर ११९५ नागरिकको हत्या र २५१ जनालाई अपहरण गरेर गाजा लगेपछि पछिल्लो युद्ध सुरु भएको थियो ।
जवाफमा इजरायलले निरन्तर गाजामाथि बमबारी गर्दैै ४६ हजारभन्दा बढी गाजावासी मारिसकेको छ ।