
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चासँग तत्काल सहकार्य नगर्ने धारणा स्पष्ट गरेका छन्। आज लहानमा बलिदान दिवसको अवसरमा सहिदको प्रतिमामा माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रतिपक्षी दलहरूको प्रयासका बाबजुद पनि आफू समाजवादी मोर्चामा सहभागी हुने विचारमा नरहेको बताएका छन्।
अध्यक्ष यादवले मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ल्याउन मधेस आन्दोलनको महत्वपूर्ण भूमिका रहेको पनि उल्लेख गरे। उनले भने, “मधेस प्रदेश सरकारले मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको सम्झनामा माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ, र यस आन्दोलनको महत्वले मुलुकका लोकतान्त्रिक परिवर्तनमा योगदान पुर्याएको छ।”


