
झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापामाथि कुटपिट भएको छ। नेपाल प्रेस युनियन झापाको दोमुखामा आयोजित वार्षिक साधारण सभाबाट फर्कने क्रममा साँझ करिब ७ बजे कन्काई नगरपालिकाको जुकेखाडी नजिक उक्त घटना भएको हो।



थापा बा १ झ ६५३ नम्बरको गाडीमा सवार थिए, जब बा १ झ १८७० नम्बरको गाडीमा सवार समूहले कुटपिट गरेको बताइएको छ। घटनामा थापा घाइते भई बिर्ता सिटी अस्पतालमा उपचार गराइरहेका छन्। उनको आँखा सुन्निएको बताइएको छ।
घटनाको कारण विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीलाई थापाको गाडीले ओभरटेक गर्दा विवाद उत्पन्न भएको जनाइएको छ। बिर्तामोड प्रहरीले कुटपिटमा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवसताक्षी–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कन्काई–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन्।
हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा सुरक्षा निकायका प्रमुख र दुबै पक्षबीच छलफल भइरहेको जानकारी प्राप्त भएको छ। यो घटनाले शान्ति सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठाएको छ।