
काठमाडौं । बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीलगायत थप २२ जनासहित ४२ जनाविरुद्ध जिल्ला अदालत रुपन्देहीमा मुद्दा दर्ता गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले जिल्ला अदालत रुपन्देहीमा आज अभियोजन पेस गरेको हो । उनीहरुलाई मुलुकी फौजदारी अपराधसंहिताको ठगी कसुर र संगठित अपराधको कसुरमा मुद्दा दायर गर्दैै लामिछानेविरुद्ध मात्रै व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरेर ४ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ ।



सुप्रिम सहकारीको रकम अपचलनबारे प्रहरीले बुझाएको यो दोस्रो पूरक अनुसन्धान हो । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
सहकारी ठगी प्रकरणमा रविलाई जिल्ला अदालत कास्की र जिल्ला अदालत काठमाडौंले यसअघि क्रमशः ६५ लाख र ६० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।