
काठमाडौं । चन्द्रागिरि नगरपालिमा रहेको विशेश्वर बचत तथा ऋण सहकारी संस्थाले १४ करोड रुपैयाँ घोटला गरेको भन्दै मुद्दा दायर भएको छ । मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९ अन्तगर्तको ठगी गर्न नहुने कसुरमा ८ संचालक समिति सदस्यविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको हो । जसमध्ये एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सहकारीको सचिव ४३ वर्षीया प्रभा महर्जन रहेकी छिन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर १० कै सहकारी अध्यक्ष ४० वर्षीया मीना महर्जन, संस्थाका उपाध्यक्ष ४७ वर्षीय रामेश्वरराज घर्ती क्षेत्री, सहकारीका कोषाध्यक्ष ३० वर्षीय बल्लभ महर्जन, सञ्चालक समिति सदस्य ३० वर्षीय नसिब महर्जन, सञ्चालक समिति सदस्य २६ वर्षीय समिप महर्जन, ५६ वर्षीय टंकनारायण श्रेष्ठ र सञ्चालन व्यवस्थापक ४२ वर्षीय रविनाथ महर्जनलाई फरार प्रतिवादी बनाइएको छ ।



चन्द्रागिरि नगरपालिका वडा नम्बर १० मा रहेको यो सहकारीले ९३ जना बचतकर्ताको १४ करोड ३१ लाख ९१ हजार २३८ रुपैयाँ अपचलन गरेको आरोप छ । यो सहकारीविरुद्ध ९३ जनाले ९ वटा छुट्टा छुट्टै जाहेरी दिएका छन् ।
प्रतिवादी बनाइएका मध्ये सहकारी अध्यक्ष मीना र सदस्य रविनाथ श्रीमान्–श्रीमती हुन् । उनीहरू दुवै जना फरार छन् ।