धुप्पि, सल्लाघारी र चियाबारीले घेरीएको रमणीय स्थल इलाम सूर्योदय नगरपालिकाको करफोकमा कन्दरा गुञ्जिने भएको छ । नेपालकै लाकप्रिय ब्याण्ड कन्दराले पहिलो पटक पूर्वी पहाडी जिल्लामा आउँदो फागुन १६ गते आफनो प्रस्तुती दिन लागेको हो । नेपालका ठूला सहरसहित बिदेशी भूमिमा गुञ्जिदै आएको कन्दराको साँगीतिक यात्रा अब नेपालकै चर्चित पर्यटकीय जिल्ला इलाममा गुञ्जने भएको हो । पछिल्लो समय करफोक नेपालकै चर्चित साँगितिक ब्याडले प्रस्तुती दिने थलो समेत बन्दै गएको छ । केही महिना अघि मात्र करफोकमै नेपालकै अर्को चर्चित ब्याण्ड नेपथ्यले साँगीतिक प्रस्तुती दिएको थियो । प्राकृतिक र धार्मिक क्षेत्रले अत्यन्तै चर्चित बन्दै गएको करफोक इलामकै उत्कृष्ट पर्यटकीय गन्तब्य बनेको छ । मेलोडी र मिठासले भरिएको अर्थपूर्ण गीत गाउने कन्दरालाई इलाम ल्याउन सूर्योदय होटल एशोसिएन सफल बनेको हो । संगितको माध्यमबाट आन्तरीक तथा बाह्य पर्यटकलाई भित्रयाउने, करफोक खेलमैदानको स्तरोन्नतीमा आर्थिक सहयोग जुटाउने, पञ्चकन्या मन्दिरको मर्मत संभारमा सहयोग पुरयाउने, करफोक बिद्या मन्दिरमा अध्ययनरत फरक क्षमता भएका बिद्यार्थीका लागि सहयोग पुरयाउन अक्षय कोष स्थापना गर्ने, युवालाई लागूऔषधको दुब्र्यसनबाट हटाई सामाजिक कार्यमा अघि बढाउने उद्येश्यका साथ यो कार्यक्रमको आयोजना गर्न लागेको आयोजक समितिले जनाएको छ ।



यो कार्यक्रम सम्पन्न गर्न करिब ५० लाख खर्च लाग्ने र ३९ लाख रुपैंयाँ खर्च हुने अनुमान गरिएको छ । कन्दराको प्रस्तुती हेर्न नेपाल र भारतका गरि गरी करिब ५ हजार दर्शक आउने अपेक्षा छ । जसमा आयोजकले ५ हजार मूल्यको भिआईपि र एक हजार मूल्यको टिकट छापेको छ । कन्दरा ब्यान्ड पोखरा नेपालको एउटा सांगीतिक समूह हो । सन् १९९४ मा गठन भएको ब्यान्डले नेपाली संगीत उद्योग भित्र लोक–पप विधा स्थापना गर्न मद्दतको लागि सबैभन्दा राम्रोसँग परिचित छ । आफ्नो विशिष्ट धुन, सरल, लोक–आधारित गीत, र भावपूर्ण भोकल प्रस्तुति दिने ब्याण्डले धेरै गीतहरू उत्पादन गरेको छ । लेका की हे माया, हङकङ पोखरा, तगारोमा रुमाल राखी, तिमी पारी जस्ता चर्चित गितहरु छन् ।




