
एसियाली राष्ट्रहरूलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ निर्माण परियोजना गति लिइरहेको छ। एक वर्षमा १२ प्रतिशत काम सम्पन्न भएको छ भने काँकरभिट्टाबाट लौकहीसम्मको १२० किलोमिटर सडकमा ९५.७६ किलोमिटरमा काम भइरहेको छ।
पूर्वी र पश्चिमी खण्डमा विभाजित गरेर काम भइरहेको यस परियोजनामा ४८ वटा पुल र १० वटा ओभरपास निर्माण हुने छन्। थाइल्यान्डको बैंककदेखि पाकिस्तानको कराँचीसम्म पुग्ने यस हाइवेले नेपाललाई पनि अन्तर्राष्ट्रिय मार्गसँग जोड्नेछ। एशियाली विकास बैंकको आर्थिक सहयोगमा तीन वर्षमा यो सडक निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ।



सडक निर्माणको क्रममा शहरी, जङ्गल र ग्रामीण क्षेत्रका आधारमा विभिन्न चौडाइ र संरचना तय गरिएको छ, जसमा साइकल लेन र फुटपाथसमेत समावेश गरिएको छ। ३० करोड अमेरिकी डलरको लागतमा भइरहेको यो आयोजना नेपालमा क्षेत्रीय समृद्धि र विकासको नयाँ ढोका खोल्ने विश्वास गरिएको छ।