‘मन परुञ्जेल सँगै बस्ने मन पर्न छोडेपछि लुगा फेरेझैं लोग्ने स्वास्नी फेर्ने’ पश्चिमाहरूको संस्कृति अनुकरणको होड चल्दा सम्बन्धित व्यक्तिमात्र नभई सम्पूर्ण समाज नै प्रभावित भइरहेको छ ।

 

  • स्त्रीलाई पुरुषको आधा अंग अर्थात् अर्धांगिनी ।
  • विवाह स्त्री र पुरुषलाई एकीकरण गरी पतिपत्नी बनाउने संस्कार ।
  • विवाहिता पत्नी प्राप्त नगरुञ्जेल पुरुष अपूर्ण हुन्छ ।

पूर्वीय सभ्यतामा गम्भीर र महत्त्वपूर्ण मानिएको विवाह संस्कारलाई हिजोआज नेपाली समाजमा पनि हल्काफुल्का रूपमा लिन थालिएको छ । ‘मन परुञ्जेल सँगै बस्ने मन पर्न छोडेपछि लुगा फेरेझैं लोग्ने स्वास्नी फेर्ने’ पश्चिमाहरूको संस्कृति अनुकरणको होड चल्दा सम्बन्धित व्यक्तिमात्र नभई सम्पूर्ण समाज नै प्रभावित भइरहेको छ । छोटो चिनजानकै भरमा वा शारीरिक आकर्षणको भरमा मन पराउने, बिहे गर्ने, शारीरिक सन्तुष्टि लिने र केही समयमै छुट्टिने संस्कृतिले मानिसलाई सुखी बन्न दिइरहेकोे छैन । उनीहरूबाट जन्मिएका सन्तानहरूले समेत पालनपोषण, शिक्षादीक्षा र सम्पत्तिको अधिकारबाट बञ्चित हुनुपरेको उदाहरण हाम्रै वरपर प्रशस्त छन् । विवाह असफल बन्ने समस्यासँगै सामाजिक, सांस्कृतिक तथा मानसिक समस्याहरू बढ्दै गइरहेका छन् । विवाह असफल बनाउने कारक तत्व र तिनबाट सिर्जित समस्याबाट पश्चिमाहरूसमेत दिक्क भइरहेका बेला हामी भने उनीहरूको संस्कृतिको अन्धानुकरण गर्न लागिपरेका छौं ।

सनातन संस्कृतिमा गृहस्थाश्रम धर्मपूर्वक निर्वाह गर्न, धर्मानुकूल यौनसम्बन्ध राख्न र सन्तानोत्पादनका लागि विवाह महत्वपूर्ण संस्कार मानिएको छ । विवाह संस्कार नभएको व्यक्तिलाई कुनै पनि धार्मिक कार्य गर्ने अधिकार दिइएको छैन । जुनसुकै कर्म गर्दा पनि पत्नीलाई साथमा लिएर गर्नु भन्ने श्रुति, स्मृति, पुराणको निर्देश छ । स्त्रीलाई पुरुषको आधा अंग अर्थात् अर्धांगिनी मानिएको हुनाले जब, आधा अंग मिलेर पूर्ण अंग बन्दछ, अनि मात्र उसले कुनै पनि कर्म गर्न पाउँछ र गरेका कर्महरू पनि पूर्ण रूपले सफल हुन्छन् भन्ने शास्त्रको भनाइ छ । विवाह स्त्री र पुरुषलाई एकीकरण गरी पतिपत्नी बनाउने संस्कार हो । यसरी विवाह भएका पतिपत्नी कहिल्यै छुट्टिँदैनन् भन्ने मान्यता छ । यसबाट समाजमा धर्म, नैतिकता, कर्तव्य आदि समाजलाई आवश्यक पर्ने विभिन्न गुणहरू विकसित भइरहेको देखिन्छ । यसरी गरिएको विवाह शास्त्रीय रूपमा कहिल्यै पनि विच्छेद नहुने बताइएको छ । विवाह संस्कारअन्तर्गत आउने चतुर्थी कर्मअन्तर्गत एक मन्त्रमा वरलाई भन्न लगाइन्छ– हे वधू’ मेरा प्राणसित तिम्रा प्राण, मेरा हाडहरूसित तिम्रा हाड, मेरा मासुसित तिम्रा मासु र मेरा छालासित तिम्रा छालाहरूलाई एक गराउँछु (पारस्कर गृह्यसूत्र) । यसरी एकीकरण हुने पतिपत्नीको सम्बन्ध पनि छुट्टिन सक्ला ?

संसारमा रहेका कुनै पनि वस्तुलाई लोप हुन दिन नहुने मान्यताअनुरूप वैज्ञानिकहरूले सजीवदेखि निर्र्जीव वस्तुहरूको अस्तित्व जोगाउनु पर्ने बताउँदै आएका छन् । त्यसै पक्षलाई आत्मसात् गरी आफ्नो जातिमा रहेका दृश्य र अदृश्य विशिष्टता जोगाउन पनि सजातीय विवाहको महत्त्व छ ।

शुक्ल यर्जुेवेदीहरूको विवाहसंस्कार गर्दा पढिने पारस्कर गृह्यसूत्रको एक मन्त्रको भावार्थ यस्तो छ– हे कुमारी ! शौभाग्यको निम्ति म तिम्रो बूढी औलो समाउँछु । पतिको रूपमा मलाई स्वीकार गरेर जीवनपर्यन्त रहिरहू । भग, अर्यमा, सविता, र पूषा देवताले तिमीलाई गृहस्थधर्म पालन गर्न मलाई दिएका हुन् । म प्राण हुँ तिमी वाक् हौ । आऊ हामी विवाह गरौं, हामी दुई संयुक्त भइर गर्भाधारण गरौं हामी पतिपत्नी परस्परमा अनुरक्त भएर, दिप्तियुक्त भई मिलेर वर्षौंवर्ष बाँचौ । विवाहअन्तर्गत आउने अन्य मन्त्रहरूको अध्ययन गर्ने हो भने पनि पूर्वीय विवाहपद्धतिको आदर्शबारे ज्ञान लिन सकिन्छ ।

सनातन धर्म र यसअन्तर्गत आउने संस्कारहरूको महत्व र तिनमा भएका दार्शनिक पक्षलाई बेवास्ता गर्दै विभिन्न आलोचना गर्ने गरिएको छ । कतिपयले सनातन हिन्दू विवाह ‘महिला हिंसा गर्ने माध्यम’ र ‘वैधानिक बलात्कारको लाइसेन्स’ जस्ता निकृष्ट पदावलीको प्रयोग गर्ने गर्छन् । पत्नी आफैं पाइने होइन देवताले दिएर पाइने हो त्यसकारण उनीमाथि निकृष्ट व्यवहार गर्नुहुँदैन भन्ने शास्त्रको मान्यता छ । प्रजापतिले आफ्नो शरीरलाई चिरेर आधाले पति र आधाले पत्नीको सिर्जना गरेको प्रसंग आउँछ । विवाहिता पत्नी प्राप्त नगरुञ्जेल पुरुष अपूर्ण हुन्छ, पत्नीको प्राप्तिले मात्र पूर्ण हुन्छ । जहाँ पतिपत्नीले समान रूपले धर्मपालन गरेका हुन्छन् त्यहाँ धर्म, अर्थ र काम पुरुषार्थको सामाञ्जस्य हुन्छ । आदर्श गृहस्थ धर्मको पालनबाट मोक्षमा समेत मद्दत पुगेको हुन्छ । धर्मविवाह गरेका पतिपत्नीको त परलोकमा समेत साहचार्य हुन्छ भन्ने मान्यता पाइन्छ । पतिव्रता र धर्मशीला पत्नीप्रति प्रतिकूल व्यवहार गर्ने, बिनाकारण उनलाई त्याग्ने व्यक्ति देवता, पितृहरूबाट त्यागिने र सदा नरकमा पर्ने उल्लेख पाइन्छ ।

विवाह संस्कारअन्तर्गत आउने चतुर्थी कर्मअन्तर्गत एक मन्त्रमा वरलाई भन्न लगाइन्छ– हे वधू’ मेरा प्राणसित तिम्रा प्राण, मेरा हाडहरूसित तिम्रा हाड, मेरा मासुसित तिम्रा मासु र मेरा छालासित तिम्रा छालाहरूलाई एक गराउँछु (पारस्कर गृह्यसूत्र) । यसरी एकीकरण हुने पतिपत्नीको सम्बन्ध पनि छुट्टिन सक्ला ?

मनुस्मृतिले स्त्री सन्तुष्ट हुँदा पुरै कुलै शोभित हुने बताएको छ । यस्तै स्कन्द पुराणमा पतिबाट पत्नी र पत्नीबाट पति सन्तुष्ट रहने घरमा पाइलैपिच्छे कल्याणप्राप्त हुने बताइएबाट पनि सनातन विवाह सस्कारले पतिपत्नीको सह-अस्तित्वलाई कायम राखेको बुझ्न सकिन्छ । पतिको अनुकुल व्यवहार गर्ने, घरका मान्यजनप्रति राम्रो बोली व्यवहार गर्ने पत्नी त लक्ष्मीकै स्वरूप मानिएको छ । पति र पत्नी आपसमा मिलेको घर त स्वर्गमा पनि नपाइने सुख हो भन्ने शास्त्रको भनाइ छ । एकजनाले मात्र पनि प्रतिकूल व्यवहार गर्दा घर नरक बन्ने भएकाले सहअस्तित्व र सहकार्यमा जोड दिइएको छ ।

सनातन शास्त्रले अन्तरजातीय विवाहलाई महत्व दिएको छैन अर्थात् विवाह फरक गोत्र तर एउटै समूह र जातिमा हुनुपर्छ भन्ने मान्यता छ । सबै जाति वा वर्णका स्त्रीपुरुषले आफ्नै जात र वर्गका पुरुषस्त्रीसँग विवाह गर्दा आफ्नो जातिको विशिष्टता सुरक्षित गर्न सजिलो हुने सनातन धर्मको मान्यता छ । श्रीमद्भागवतगीताले अन्तरजातीय विवाह र यसबाट उत्पन्न वर्णशंकर सन्तानलाई कुल विनाश गराउने भनेको छ । वैज्ञानिकहरूले पनि अन्तर्जातीय विवाहबाट मानव ‘जीन’ मा क्षति पुग्ने भन्दै यसले स्वास्थ्यमा ठूलो असर पुग्ने पत्ता लगाएका छन् । नोबेल पुरस्कार प्राप्त गरेका प्रसिद्ध अमेरिकी वेज्ञानिक जेम्स वाट्सनले आ–आफ्नो जाति र समूहभित्र विवाह गर्ने परम्पराको प्रसंशा गरेका छन् । अन्तरजातीय विवाहले केटाकेटीमा क्षणिक आनन्दानुभूति गराएपनि वा तिनीहरूबाट उत्पन्न भएका सन्तान क्षणिक रूपमा बुद्धिमान् देखिएपनि दीर्घकालीन नकारात्मक असर गर्ने देखिएको छ । संसारमा रहेका कुनै पनि बस्तुलाई लोप हुन दिन नहुने मान्यताअनुरूप वैज्ञानिकहरूले सजीवदेखि निर्र्जीव वस्तुहरूको अस्तित्व जोगाउनु पर्ने बताउँदै आएका छन् । त्यसै पक्षलाई आत्मसात् गरी आफ्नो जातिमा रहेका दृश्य र अदृश्य विशिष्टता जोगाउन पनि सजातीय विवाहको महत्त्व छ ।

सनातन धर्मशास्त्रमा आठ किसिमका विवाहहरूको उल्लेख गरिएको पाइन्छ– ब्राह्म, दैव, प्राजापत्य, आर्ष, आसुर, गान्धर्व, राक्षस र पिशाच गरी आठ विवाहको उल्लेख छ । विवाहमध्ये अघिल्ला चार विवाह ब्राह्मणका लागि, क्षत्रीय वैश्यका लागि गान्धर्व, आसुर र राक्षस विवाह ग्राह्य मानिएको छ । अघिल्ला चार विवाहलाई धर्मविवाह पनि भनिएको छ । पैशाच विवाह निकृष्ट मानिएको छ । अहिले प्रचलनमा रहेको प्रेमविवाह गान्धर्वविवाहको स्वरूप हो । कुनै न कुनै रूपमा संसारमा यी सबै प्रकारका विवाहहरू संसारमा चलेका देखिन्छन् ।

लेखक : पंक्तिकार पत्रकार हुन् । उहाँ समाज र संस्कृतिबारे लेख्नुहुन्छ ।
dhitalramprasad@gmail.com

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय