
विराटनगर । कोशी प्रदेशसभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीलाई ६ वर्षको कैद फैसला सुनाइएको छ । सर्वोच्च अदालतले पशुपति क्षेत्रमा बालुवाखानी सञ्चालन प्रकरणमा कोशी प्रदेश सभाका सचिव पराजुलीलाई दोषी ठहर गरेको हो ।
न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजिज मुसलमानको इजलासले विशेष अदालतको सफाइ फैसलालाई उल्ट्याउँदै पराजुलीसहित ९ जनालाई कसुरदार ठहर गरेको छ । पराजुलीलाई १ करोड २२ लाख रुपैयाँ जरिवाना तोकिएको छ । उहाँले काठमाडौं जिल्ला विकास समितिको स्थानीय विकास अधिकारी हुँदा ६ करोड २३ लाख ७० हजार रुपैयाँ बराबरको भ्रष्टाचार गरेको अदालतको ठहर छ ।



यसैगरी एमाले नेता निर्मल कुइँकेललाई पनि ६ वर्ष कैद तथा ८३ लाख ४१ हजार रुपैयाँ जरिवाना तोकिएको छ । साथै पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव सुशील नाहाटालाई पनि ६ वर्ष कैद र ९१ लाख ६३ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।
अदालतको फैसलासँगै दोस्रो कार्यकालका लागि नियुक्त भएका पराजुली स्वतः पदमुक्त भएका छन् ।