
काठमाडौं । चन्द्रागिरि हिल्सका डाइरेक्टर प्रेमराज जोशी पशुपतिनाथ मन्दिरको सम्पत्ति हिनामिनासँग जोडिएको भ्रष्टाचार मुद्दाका दोषि ठहर भएका छन् । डाइरेक्टर जोशी स्थानीय विकास अधिकारी हुँदा पशुपतिनाथ मन्दिरको गोठाटारस्थित जग्गाको ‘ल्यान्डस्केप’ नै फेरबदल हुने गरी बालुवाखानी सञ्चालन गरेको भन्दै अदालतले उनीलाई भ्रष्टाचारको दोषि ठहर गरेको हो ।
देशमा जनप्रतिनिधि नहुँदा सर्वदलीय संयन्त्र र कर्मचारीले राज्य संचालन गरेका थिए । त्यति बेला अहिलेका चन्द्रागिरि हिल्सका डाइरेक्टर प्रेमराज जोशी स्थानीय विकास अधिकारी थिए । उनीलगायत व्यक्तिले पशुपतिनाथ मन्दिरको जग्गामा बालुवा खानी चलाएको भन्दै भ्रष्टाचारको मुद्दा चलाइएको थियो । सर्वोच्च अदालतले यही बुधबार प्रेमराज जोशीसहित ९ जनालाई दोषी ठहर गरेको थियो । जोशीलाई सर्वोच्चले ६ महिना कैद २ लाख ३७ हजार विगो र सोही बराबर नै जरिवाना तोकेको छ ।



केही वर्षअघि एउटा सामान्य कर्मचारीबाट अहिले चन्द्रागिरि हिल्सजस्ता नाम चलेका ठूला कम्पनीमा लगानी गर्ने हैसियत कहाबाट भयो ? राज्यले जोशीलाई भ्रष्टाचार मुद्दामा मात्र नभई उनले कमाएको अकुत धनको खोजी गर्न आवश्यक छ ।
देश र जनतालाई लुटेर कमाएको धनबाट ठूला ठालु बनेका प्रेमराज जोशी जस्ता व्यक्तिको लगानी रहेको चन्द्रागिरि हिल्सका सम्पूर्ण संचालकहरुको सम्पत्ति राज्यले खोज्नु पर्छ । होइन भने एउटा सामान्य व्यक्ति छोटो समयमा नै कसरी आधा देश नै किन्न सक्ने हैसियतमा पुग्छ ।
सार्वजनिक सम्पत्ति दोहोन गरेर रातारात मालामाल भएका जोशी जस्ता व्यक्तिहरुलाई राज्यले एक–एक गरेर छानि छानि कारवाहीको दायरामा ल्याउन सक्नुपर्छ । अनिमात्रै देश समृद्धिको बाटोमा अघि बढ्न सक्छ । यस्ता देश चुसाहा व्यक्तिहरुलाई राज्यले सफाई दिने र कारवाही गर्न ढिलासुस्ति गर्ने हो भने छिट्टै राज्य खोक्रो नहोला भन्न सकिदैन ।
चन्द्रागिरि हिल्सका डाइरेक्टर प्रेमराज जोशीसहित ९ जनाविरुद्ध न्यायाधीश कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले पशुपतिनाथ मन्दिरको गोठाटारमा रहेको ५३४ रोपनी जग्गामा बालुवाखानी सञ्चालन गर्दा भ्रष्टाचार भएको भन्दै लगभग एक दशकपछि कसुरदार ठहर गरेको छ । सर्वोच्च अदालतको फैसला नै अन्तिम भएकोले दोषि ठहरिएकाहरु प्रेमराज जोशीलगायत ९ जना तोकिएको समयसम्म कैद बस्नुपर्ने अनि बिगो र जरिवाना तिर्नुपर्ने कानूनी प्रावधान छ ।