बाघको आक्रमणबाट रौतहटको चन्द्रपुर नगरपालिकाको मंलबार दिउसो एक जना युवक घाइते भएका छन । चन्द्रपुर नगरपालिका वडा नम्बर ५ घर भएका २२ बर्षिय प्रदिप चौधरी बाघको आक्रमणबाट घाइते बनेको जिल्लाको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिए ।

बाघको आक्रमणबाट चौधरीको हात र पेटमा चोट लागेको बताइएको छ । रौतहटमा बिगत ६ महिनाको अवधिमा बाघको आक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन ।

केही वर्षयता रौतहटको वन क्षेत्रमा बाघको संख्यासंगै गतिविधि पनि बढेको डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत अमरदेव यादवले बताए । वन अधिकृत यादवले वन संरक्षणमा उल्लेखनीय प्रगति भएको र बाघको आहार र बासस्थानमा समेत सुधार आएकाले बाघको संख्यासंगै गतिविधि पनि बढेको जानकारी दिए ।

जिल्लाको वन क्षेत्रमा गत वर्ष भएको बाघ गणनामा जिल्लाको वन क्षेत्रमा ४ वटा बाघ फेला परेको थियो । पर्सा, बारा, मकवानपुरसंगै रौतहटको वन क्षेत्रमा पनि क्यामरा ट्रयापिङ प्रविधिबाट बाघको गणना गरिएको हो ।

रौतहटमा धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री, नुनथर लगायतका वन क्षेत्रमा १७ जोर क्यामेरा जडान गरेर बाघ गणना गरिएको हो ।

जिल्लामा यो वर्ष पनि बाघ गणना सुरु गरिएको छ । यही माघ ४ गतेबाट सुरु भएको गणनाको क्रममा बाघको आवतजावत हुने सम्भावित क्षेत्रमा क्यामरा जडान गरिएको छ ।
वन क्षेत्रमा १५ दिनसम्म क्यामरा राखेर बाघको गणना गरिने वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय