पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुनसरीको कोशी गाउँपालिका वडा नं. १ फुलचोकमा शुक्रबार राति बस ट्रकसँग ठोक्किएर भयानक आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ। आगलागीबाट बसका दुई जना र ट्रकका एक जनाका मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको पहिचान हुन सकेको छैन। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सञ्जयसिंह थापाले शुक्रबार राति अबेरसम्म दुई जना बसमा सवार र एक जना ट्रकमा सवारको मृत्यु भएको यकिन भएपनि अरु केही खुल्न नसकेको बताए। प्रहरीले मृतकमध्ये एक जना बसका चालक र सोही बसमा सवार अर्का एक जना बालक रहेको अनुमान गरेको छ।

‘मृतक आगोले गर्दा पूरै जलेर डल्लो भएकाले गर्दा अरु पनि बढ्न सक्छन्,’ घटनास्थलमा पुगेका पत्रकार अजित झाले भने, ‘घटनाको प्रकृति हेर्दा मृतकको संख्या बढ्नेछ।’

शुक्रबार राति ७.२० तिर काकडभिट्टाबाट यात्रु लिएर काठमाडौं हिँडेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बसले पूर्वतर्फ आउँदै गरेको आफ्नै साइडमा रहेको ना ५ ख २९९६ नम्बरको ट्रकलाई ठक्कर दिएर ट्रक मुनी छिर्दा आगलागीसँगै मानवीय क्षति भएको प्रहरीले जनायो।

‘ट्रक आफ्नै साइडमा पूर्वतर्फ आइ रहेका बेला बसले फरक दिशा मोडेर ट्रकसँग ठोक्किएर त्यसमुनी छिरेको छ,’ एसपी थापाले भने, ‘प्रहरीको टोली घटनास्थल नजिकै भएकाले गर्दा बेलैमा अरु यात्रुको उद्धार गर्न सफल भइयो। नत्र ठूलो मानवीय क्षति हुने थियो।’ जनपथ र सशस्त्र प्रहरी घटनालगतै पुगेकाले गर्दा बसका यात्रुलाई सिसा फुटाएर बाहिर निकाल्न सफल भएको एसपी थापाले जनाए। बसमा कति यात्रु थिए भन्ने खुल्न सकेको छैन।

प्रहरीले दुई घण्टाभित्र आगो नियन्त्रणमा लिएपनि बस पूर्ण रुपमा जलेर नष्ट भएको छ। आगो नियन्त्रणमा आएसँगै बस र ट्रकलाई क्रेन लगाएर अलग अलग गरिएको जानकारी दिइयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय