विक्रम संवत् २०८२ सालको शुभारम्भ आजबाट भएको छ। नेपालभरि र प्रवासमा रहेका नेपालीहरूले यो दिनलाई उत्सवपूर्वक मनाउँदै आपसी शुभकामनाको आदान–प्रदान गरिरहेका छन्। सांस्कृतिक समृद्धि र सामाजिक सद्भावको प्रतीकस्वरूप, नयाँ वर्ष नेपाली समुदायका लागि विशेष महत्त्व बोकेको पर्व हो। नयाँ वर्षको प्रथम दिनलाई पवित्र मानिँदै बिहानै स्नान गर्ने, देवालयमा दर्शनपूजन गर्ने, घरआँगन सफा–सुन्दर पार्ने तथा आफन्तजन, मित्रमण्डलीसँग भेटघाट गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहिआएको छ। मिठा परिकारहरू बाँडफाँड गर्ने, सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने, र भविष्यप्रति सकारात्मक संकल्प गर्ने चलनले यो दिनलाई अझ विशेष बनाएको छ।

यस अवसरमा राष्ट्रका प्रमुख व्यक्तित्वहरू—राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष तथा विभिन्न राजनीतिक दलका नेताहरूले देश तथा जनताको समृद्धि, शान्ति र उन्नतिको कामना गर्दै शुभकामना सन्देश सार्वजनिक गरेका छन्।

विक्रम संवत् राजा विक्रमादित्यको नामबाट प्रारम्भ भएको संवत् हो, जुन नेपालमा मल्लकालदेखि नै मौलिक संवत्का रूपमा प्रचलित रहँदै आएको छ। भारतमा यद्यपि शक संवत्लाई सरकारी मान्यता प्राप्त छ, व्यवहारमा इस्वी संवत् प्रयोग गरिन्छ। तर नेपालमा भने प्रशासनिक, सामाजिक तथा सांस्कृतिक सबै क्षेत्रमा विक्रम संवत्को प्रयोग जारी छ। इतिहासका अध्येताहरूका अनुसार, १२औँ शताब्दीमा गुजरातबाट नेपाल आएका पण्डितहरूले ग्रन्थहरूमा विक्रम संवत्को उल्लेख गरेका प्रमाणहरू फेला परेका छन्, जसले यसको ऐतिहासिक प्रयोगलाई पुष्टि गर्छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय