
बुटवल उपमहानगर वडा नं. ११ देवीनगरमा संचालित सनराईज बहुउद्देश्यीय सहकारी संस्थाले बचतकर्ताको रकम कुम्ल्याएर भागेको छ । सहकारीले गत चैत ३१ गतेसम्म बजारबाट रकम उठाएर सोही दिन नै एक सूचना टाँस गरी सहकारी बन्द रहने जानकारी गराई रकम कुम्ल्याएर भागेको हो । कार्यालयको भितामा टाँसिएको सूचनामा सहकारीका अध्यक्ष आकाश भट्राईले आर्थिक अपचलन गरी केही समयदेखि सम्पर्कमा आएका छैनन् ।
अध्यक्षको खोजी जारी रहेको र पछिल्लो समयमा कर्मचारीको भरमा बजारलाई चलायमान बनाउनका लागि बचतकर्ताबाट असहज परिस्थिति सृजना भएको भन्दै गत चैत ३१ गतेको मितिमा सूचना टाँसिएको पाइएको छ । सूचनामा बचतकर्तालाई अध्यक्षको खोजीको लागि आवश्यक पहल गर्न समेत अपिल गरिएको छ । सहकारी बन्द भएपछि बुटवल उपमहानगरपालिका वडा नं. ७ दीपनगरकी स्मृती पाण्डे पौडेलले छोराछोरीको स्कुलको नास्तालाई कटौती गरी दैनिक १ दुई सयका दरले जम्मा गरेको रकम लिन आउँदा सहकारी नै बन्द भएको देख्दा निकै पीडा भएको दुखेसो सुनाउनु हुन्छ ।



स्मृती जस्तै बुटवल उपमहानगर वडा नं. ११ देवीनगरकी तारा विश्वकर्माले पेटभरी खाई नखाई बचत गरेको रकम आवश्यक परेकोले लिन आउँदा कार्यालय नै बन्द गरिएको र पैसा उठाउने बहिनीहरुले फोन पनि उठाउन छाडेको भन्दै दुखेसो पोख्नु भयो । सहकारी संस्थाले सूचना जारी गरी फरार भएको सम्बन्धमा लुम्बिनी प्रदेश सरकारका सहकारी रजिष्टार मधुकृष्ण पौडेलसँग जिज्ञासा राख्दा प्रदेश स्थापन भएपछि प्रदेशमा दर्ता भएका सहकारीहरुले ठगी गर्दै आएको बताउँदै नियत नै गलत राखेर सहकारी संस्था प्रदेशमा दर्ता हुने गरेको बताउनु भयो । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णप्रसाद नेपालले जिल्ला भन्दा बाहिर दर्ता भएर आएका बहुउद्देश्यीय सहकारीमा रकम जम्मा नगर्न अपिल गर्दै प्रदेशमा २३ वटा सहकारी समस्यामा रहेको जसमध्ये १३ वटा बहुउद्देश्यीय र ९ वटा बचत तथा ऋण सहकारी रहेकोमा सनराईज बहुउद्देश्यीय पनि थपिन पुगेको बताउँदै दर्ता गर्ने कार्यालयले अनुगमनमा कडाई गर्न समेत अध्यक्ष नेपालले सुझाव दिनुभयो ।
त्यस्तै जिल्ला बचत तथा ऋण सहकारी संघ रुपन्देहीका अध्यक्ष तथा प्रदेशका महासचिव बसन्त प्रसाद ढकालले बाहिरी जिल्लामा दर्ता भएर शाखा सञ्चालनमा रहेका सहकारीहरुमा समस्या देखिएको भन्दै आम नागरिकलाई जिल्लाभन्दा बाहिर दर्ता भएका बहुउद्देश्यीय सहकारीमा रकम बचत नर्गन आग्रह गर्दै तीनै तहका सरकारले सहकारीको नियमन र कारबाही प्रक्रियामा जिम्मेवार भएर जवाफदेही हुनुपर्ने जिकिर गर्नुभयो ।
लुम्बिनी प्रदेशमा १ सय ३० वटा सहकारी प्रदेशमा दर्ता भएको र प्रदेशका १२ वटा जिल्लामा गरी प्रदेश सरकार सहकारीले नियमन गर्ने ८ सय ४८ सहकारी रहेको अनुगमन र नियमनका लागि कर्मचारी अभावका कारण प्रभावकारी रुपमा अगाडि बढ्न सकेको छैन । ०७८ सालमा प्रदेशमा दर्ता भएको सहकारीले ०७९ सालमा साधारणसभा गरेको पाइएको छ भने त्यसयता सम्बन्धित निकायमा सम्पर्कमा नआएर बजारमा निरन्तर पैसा उठाउँदै आएको पाइएकाले सो सहरकारीले नागरिकबाट कति रकम उठाएर ठगी गर्यो भन्ने यकिन छैन् ।