
सप्तरीको सुरुंगा नगरपालिका ७ हरिपुरकी २० वर्षिया पुजाकुमारी राम गत मंगलवार गाउँमा सिरुवा मेला लाग्ने भएको हुँदा मेलामा जाने तयारी गर्दै सोमबार राती नै हात मेहँदी लगाएकी थिईन् । राती करिब ८ बजिरहेको थियो । पुजाले हातमा लगाएको मेहँदी सुकाईरहेकी थिइन् । आमा र भाई भने छिमेकी टोलमा भईरहेको अष्टयाम हेर्न पुगेका थिए । घरमा पुजा र कान्छो भाई मात्रै थिए । पुजाकी काकी शिवकुमारीले अब राती भयो, आमा ढिलो गरी आउँछ होला, तिमिहरु सुतिहाल भनेर उनी पनि सुत्न गईन् । तर, कसलाई थाहा थियो कि पुजाको लागि त्यो अन्तिम रात होला । घरदेखि एक किलोमिटर दक्षिण खेतमा गत मंगलवार अपरान्ह पुजाको शव फेला परेपछि तीन दिनदेखि सिंगो गाउँ नै शोकाकुल बनेका छन् भने फेरि कुनै अप्रिय घटनाको डरले स्थानीयहरु त्रसित समेत भएका छन् ।



हुनत् अहिले अपहरण पछि हत्या गरिएको पुजाको तीन वर्षअघि छिमेकीद्धारा बलात्कारको प्रयास भएको थियो । उक्त घटनामा संलग्न भएका स्थानीय जागेश्वर ठाकुरमाथि सप्तरी जिल्ला अदालतले ८ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना सजाय गरेको छ । तर, ठाकुरले उक्त सजाय नकाट्दै अहिलेको हत्यामा पुनः उनकै संलग्नता भएको स्थानीयहरुको भनाई छ । प्रहरीले पनि उनै ठाकुरलाई अनुसन्धानकालागि नियन्त्रणमा लिएर कारबाही अगाडी बढाएको जनाएको छ ।
मधेश प्रदेशका सप्तरी सिरहा लगायतका जिल्लाहरुमा अहिले देखिएको महिला हिंसाको अवस्था भयाबह छ । हुनत् घरबाट घिर्सादै पुजाको अपहरण तथा बलात्कार र त्यसपछि हत्या भएको विषय परिवारले दाबी गरिरहेको छ । स्थानीय प्रहरी प्रशासन अझ चनाखो नभए पुजाजस्तै अरु युवतीलाई ज्यान गुमाउन नपर्ने भन्ने अवस्था छैन ।