
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलान्चोकको बनेपामा निर्माण हुने सिनेपा नामक अत्याधुनिक सुविधा सम्पन्न चलचित्र छायांकन स्टुडियोको शिलान्यास गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँकन स्टुडियो निर्माण आरम्भ हुनुु नेपाली चलचित्र क्षेत्रका लागि एक प्रकारको क्रान्ति भएको बताउनु भयो ।



प्रधानमन्त्री ओलीले काभ्रेको वनेपामा निर्माण हुने सो स्टुडियो बन्न नेपाली चलचित्र क्षेत्रले ६ दसकदेखि आवाज उठाउनु परे पनि अब भने बन्ने प्रक्रिया अघि बढेको बताउनुभयो । प्रधानमन्त्री ओलीकै पहिलो कार्यकालमा उक्त निर्माणको निर्णय भए पनि जग्गा विवाद र सरकार परिवर्तनलगायत कारणले काम अवरुद्ध भएको थियो । बालाजुुस्थित नेपाल चलचित्र विकास कम्पनीको जग्गा हिनामिना भएको भन्ने सम्बन्धमा कार्यक्रममा सहभागी सञ्चारमन्त्री र सचिवलाई ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री ओलीले हप्ता– दश दिनभित्र त्यसको छानबिन गरी प्रतिवेदन दिन निर्देशन दिनुभयो । कतिपयले राजनीतिमा पनि अभिनय गर्न थाले पनि आफूहरु राजनीतिलाई यथार्थमा बदल्ने साधनका रुपमा लिएर काम गरिरहेको स्पष्ट गर्नुभयो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुुब्बा गुरुङ, पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, बागमती प्रदेशका सांसद कञ्चनचन्द्र वादे, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याललगायत सहभागिता रहेको थियो ।
फोटो–पीएमओ नेपाल