सुर्खेत विमानस्थलको धावनमार्ग ९रनवे मा पटक–पटक खाल्डो परेपछि विमानस्थल चार दिनका लागि बन्द गरिएको छ। मंगलबारदेखि उडान तथा अवतरण रोक्दै मर्मत सुरु गरिएको रनवेको अर्को स्थानमा पुनः जमिनमुनीबाट पानी निस्किन थालेपछि बिहीबार र शुक्रबारका लागि पनि विमानस्थल बन्द गर्नुपरेको हो।

सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेका अनुसार सुरुवाती खाल्डो परेको स्थानको मर्मत कार्य सकिएको थियो। तर त्यसको करिब १० मिटर परको अर्को स्थानबाट जमिनमुनि पानी निस्कन थालेपछि फेरि निर्माण थालिएको छ।
शुरुमा भ्वाङ परेको ठाउँको मर्मत सक्यौं, तर नजिकैको भागमा फेरि जमिनमुनिबाट पानी निस्कन थाल्यो,प्रमुख काफ्लेले जानकारीदिनु भयाे अब बिहीबार र शुक्रबार दुई दिन बन्द गरेर सो क्षेत्रको पनि मर्मत गरिन्छ।

खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती हटाएर विस्तार गरिएको भूभागमा पर्छ। रनवेको नेवार स्कुलतर्फको उत्तरी छेउमा समस्या देखिएको हो। पानी निस्किने र जमिन भासिने सम्भावनालाई ध्यानमा राखेर निर्माण सकिएपछि मात्र विमानस्थल सुचारु गरिने बताइएको छ।
विमानस्थलले जानकारी दिएअनुसार शनिबारदेखि नियमित उडान र अवतरण गराउने गरी काम तीव्र पारिएको छ। तर कामको प्रगति र मौसमको अवस्थाका आधारमा समय थपिन सक्ने सम्भावना पनि रहन्छ।

हाल सुर्खेत विमानस्थलबाट बुद्ध एयर र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा संचालन गर्दै आएका छन्। विमानस्थल बन्द हुँदा यात्रुहरूलाई वैकल्पिक रूपमा सडकमार्ग प्रयोग गरेर तीन घण्टाको यात्रा पार गर्दै नेपालगञ्ज पुग्नुपर्ने बाध्यता सिर्जना भएको छ।

स्थानीय यात्रुहरू र व्यवसायिक क्षेत्रले विमानस्थलको आधारभूत संरचना मजबुत बनाउनुपर्ने माग गर्दै आएका छन्। बारम्बार रनवेमा समस्या आउनुले सुरक्षा जोखिम बढेको भन्दै दीर्घकालीन समाधानको खाँचो औंल्याइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय