(एजेन्सीहरू) अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरानले इजरायलविरुद्ध जवाफी हमला सुरु गरेको छ। प्रारम्भिक रिपोर्टहरूमा इरानले इजरायलतर्फ १०० भन्दा बढी ड्रोन प्रहार गरेको उल्लेख छ।

टाइम्स अफ इजरायलले इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) लाई उद्धृत गर्दै इरानले चाँडै नै ठूलो क्षेप्यास्त्र आक्रमण गर्न सक्ने चेतावनी दिएको बताएको छ।
इजरायलको आक्रमण र इरानी कमान्डरको मृत्यु
यो घटनाक्रम आज बिहान इजरायलले इरानमाथि गरेको आक्रमणको जवाफमा आएको हो। न्युयोर्क टाइम्सका अनुसार इजरायली सेनाले करिब २०० लडाकु विमान प्रयोग गरी तेहरान वरपरका कम्तीमा ६ वटा सैन्य अड्डालाई निशाना बनाएको थियो। यी ६ स्थानमध्ये ४ वटा आणविक अड्डा रहेको बताइएको छ।

शुक्रबार बिहान इजरायलले गरेको आक्रमणमा इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का कमान्डर हुसेन सलामीसहित पाँच जनाको मृत्यु भएको पुष्टि भएको छ। मारिनेहरूमा सलामीका अतिरिक्त खातम-अल-अन्बिया केन्द्रीय मुख्यालयका कमान्डर घोलामाली रशिद, चिफ अफ स्टाफ मोहम्मद बघेरी, आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरिदुन अब्बासी, र आणविक वैज्ञानिक तथा तेहरानको इस्लामिक आजाद विश्वविद्यालयका अध्यक्ष मोहम्मद मेहदी तेहरानची रहेका छन्।

नयाँ कमान्डरको नियुक्ति र जवाफी आदेश
आईआरजीसी कमान्डर हुसेन सलामीको निधनपश्चात् इरानले कुड्स फोर्सका पूर्वप्रमुख जनरल वाहिदीलाई उनको स्थानमा नियुक्त गरेको छ। कमान्डर पदमा नियुक्ति हुनेबित्तिकै जनरल वाहिदीले इजरायललाई आक्रमणको जवाफ दिन आदेश जारी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय