झापामा एक जंगली हात्ती मृत फेला परेको छ । मेचीनगर एक वटा हात्ती मृत फेला परेका हुन् । त्यस्तै हात्तीको आक्रमणमा मेचीनगर १ दुर्जन चोक बस्ने ६८ वर्षीय पूर्ण बहादुर श्रेष्ठ घाइते भएका छन् ।
आज बिहान ८ः५५ बजे मेचीनगर नगरपालिका .१ गणेश टोलस्थित मकैबारीमा जंगली पोथी हात्ती मृत अबस्थामा फेला परेको हो । प्रहरी चौकी तिरिङखोलाबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको र डिभिजन वन कार्यालय झापालाई जानकारी गराइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



यता आज बिहान ४ः३५ बजे मेचीनगर नगरपालिका १ दुर्जन चोक बस्ने ६८ वर्षीय पूर्णबहादुर श्रेष्ठ जंगली हात्तीको आक्रमणबाट घाइते भएका छन् । आफ्नै बारीमा आएको एकल जंगली हात्तीलाई लखेट्ने क्रममा उक्त हात्तीले श्रेष्ठलाई आक्रमण गरेको थियो । घाइतेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
आज दिउँसो पनि मेचीनगर–२ मा जंगली हात्तीको बथान नै पसेको छ । जसका कारण यहाँका स्थानीय नागरिक त्रसित छन् । बिहानदेखि नै मेचीनगर–२ स्थित मगर डाँडामा भने २० वटाभन्दा बढी जंगली हात्ती डुलिरहेका छन् ।




