चन्द्रागिरि नगरपालिकामा जता हेर्यो त्यतै वेथिति मौलाउन थालेको छ । नगरपालिकाको १ देखि १५ वटै वडामा सार्वजनिक सम्पत्तिको दुरुपयोग बढ्न थालेको छ । सार्वजनिक सम्पत्तिमा जहाँ मनलाग्यो त्यही बोरिङ गर्ने, क्लव, फुटसल, कबर्ड हल, पार्कलगायत विभिन्न नाममा सरकारी सम्पत्तिमा व्यक्तिले आफ्नो निजी सम्पत्ति जस्तो गरी लुट मच्चाई रहेका छन् । त्यस्तै लुट मध्ये एक हो चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा रहेको गणेशमान स्मृति फुटसलको ।

काठमाडौं क्षेत्र नम्बर १० का सांसद राजन कुमार केसीले लौह पुरुष गणेशमान सिंहको नाममा ५० लाख रुपैयाँ फुटसल बनाउनको लागि भन्दै चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा बजेट विनियोजन गरिदिन्छन् । बजेटको सदुपयोग गर्न घुमाउने, इटाखेलमा रहेको ठूलो पाटो चौरको नामले चिनिएको सार्वजनिक जग्गामा कडा रस्साकस्सीका साथ फुटसल निर्माणको थालनी हुन्छ, फुटसल निर्माण सम्पन्न गर्न केन्द्र, प्रदेश र स्थानीय सरकारले वर्षौदेखि बजेट छुट्टाउँदै आएको छ । फुटसल निर्माणका लागि करोड बढी बजेट लागिसक्यो तर, आजको दिनसम्म पनि निर्माणको काम भई नै रहेको छ । निर्माणसँगै फुटसल संचालनको लागि सन्तोष महतको नेतृत्वमा १३ सदस्यीय समिति बन्छ २०८० सालमा । २०८० सालबाट फुटसल संचालनमा आउँछ । जुन आजका दिनसम्म पनि निर्वाधरुपमा संचालन भइरहेको छ । लौह पुरुष गणेशमान सिंहको नाम बेचेर सार्वजनिक सम्पत्तिमा सरकारी पैसा हालेर निर्माण गरिएको गणेशमान स्मृति फुटसलमा व्यक्तिगत रुपमा समितिको कमाउ र रमाउको धन्दा चलेको छ । विहान देखि बेलुकासम्म खेल हुन्छ । एक घण्टा खेलेको ५ सय देखि ८ सय रुपैयाँसम्म लिइन्छ । त्यो पैसा सिधै अध्यक्ष सन्तोष महत र कोच भनिने मानस कोइरालाको खल्तीमा जान्छ । लगभग ३ वर्षदेखि निरन्तररुपमा संचालनमा रहेको फुटसलमा दिनमा कति खेल खेलिन्छ र आम्दानी कति हुन्छ कोही कसैलाई थाहै छैन । पैसा उठाइन्छ, पैसा तिरेको वा लिएको कुनै प्रमाण नै दिईदैन । उठेको पैसा नगद भए सिधै महत र कोइरालाको खल्तीमा जान्छ, नगद नभए खेलाडीलाई मोवाइलबाट सिधै निजी ई–सेवा खातामा ट्रान्सफर गर्न लगाइन्छ ।

महत र कोइरालाले आफुखुशी मनलाग्दी ढंगले विगत ३ वर्षदेखि निरन्तर अवैधरुपमा पैसा उठाउन थालेपछि समितिका पदाधिकारीबीच खटपट सुरु हुन्छ । समितिका एक पदाधिकारीले आफ्नो नाम नलेख्ने शर्तमा हामीलाई भन्छन्, आफुले हिसाब किताव राख्न र स्पष्ट देखाउन माग गर्दा अध्यक्ष महतले वेवास्ता गर्दै मानस कोइराला भन्ने व्यक्तिलाई समितिको कुनै निर्णय बेगर नै फुटसलको सम्पूर्ण जिम्मेवारी दिएर भ्रष्टाचार गरेको बताउँछन् । अध्यक्ष महतले सधै फुटसल घाटामा रहेको बताउँदै मासिक ५ देखि ९ हजार मात्र आम्दानी हुने र खर्च पनि सोही अनुरुप हुने गरेको भन्दै आम्दानी देखाउनै नमान्ने आनाकानी गर्दै आएको उहाँको गुनासो छ । निजी फुटसलमा सोही अनुरुप खेल हुँदा मासिक १ देखि ढेडलाखसम्म सबै खर्च कटाएर आम्दानी हुने तर, सार्वजनिक स्थानमा बनाइएको फुटसलमा भने सधै घाटा देखाउनु भनेको फुटसलमा चरम भ्रष्टाचार भइरहेको उहाँको दाबी छ ।’ आफुखुशी संचालन गर्दै आएका गणेशमान स्मृति फुटसलका अध्यक्ष सन्तोष महत चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का वडा सदस्य रामशरण महतका छोरा हुन् । सन्तोष महतको नेतृत्वमा २०८० सालमा गणेशमान स्मृति फुटसलको नाममा दर्ता भई संचालन हुँदै आएको लगभग ३ वर्ष भइसक्यो । तर, आजका दिनसम्म समितिको एउटै बैठक पनि नबसेको पदाधिकारीहरु नै बताउँछन् । समितिको वर्षैपिच्छे संस्था नविकरण गर्नुपर्छ, जुन आजको दिनसम्म गरिएको छैन । समितिले न साधारण सभा गरेको छ न त कुनै अडिट नै । नेपाल सरकारलाई ठगी गर्दै संचालन हुँदै आएको गणेशमान स्मृति फुटसलमा अहिले पनि तीनै तहको सरकारले कार्यकर्ता पोस्नकै लागि फुटसलको नाममा बजेट छुट्टाएको छ । यसबाट स्पष्ट हुन्छ कि गणेशमान स्मृति फुटसल समितिका पदाधिकारी मात्र नभई फुटसलको नाममा बजेट विनियोजन गरिदिने निकाय, व्यक्ति पनि भ्रष्टाचारको भागेदार हुन् ।

गणेशमान स्मृति फुटसलमा समितिका पदाधिकारीहरुले विधानमा उल्लेख गरिएको उद्देश्य र मर्म विपरित गतिविधि गर्दै आएका छन् । समितिले फुटसललाई क्रिकेट स्टेडियम बनाएर समेत पैसा असुल्दै आएको छ । फुटसलमा बुधबार ४ गतेदेखि ७ गतेसम्म मातातीर्थ इण्डोर क्रिकेट प्रतियोगिता भइरहेको छ । प्रतियोगितामा १६ वटा टीम सहभागी छन् । दिनमा कम्तिमा क्रिकेट मात्र अहिले ९ घण्टा खेल भइरहेको छ । उक्त खेलको लागि समितिले विना विल आयोजकसँग प्रतिघण्टा ५ सय रुपैयाँको दरले मौखिक रकम असुलेको छ । यस्तो गेम फुटसलमा समितिले अघिल्ला वर्षमा पनि धेरै पटक गरिसकेको छ । तर, हिसाब किताब भने सबै महत र कोइरालाको गोजीमा पुगेको छ ।

गणेशमान स्मृति फुटसलका पदाधिकारीहरु

१. अध्यक्ष : सन्तोष महत
२. उपाध्यक्ष : प्रभाकर शाह ठकुरी
३. सचिव : अनुपा केसी
४. सह–सचिव : सम्झना अधिकारी
५. कोषाध्यक्ष : विविध अर्याल
६. सदस्य : विकास राना मगर
७. सदस्य : प्रकाश क्षेत्री
८. सदस्य : विशाल थापा मगर
९. सदस्य : अञ्जु केसी
१०. सदस्य : सरिता खत्री
११. सदस्य : सुसान्त मानन्धर
१२. सदस्य : महेन्द्र सुनाम
१३. सदस्य : निश्चल शर्मा

खेलकुदको माध्यमबाट समाजमा अनुशासन र सामाजिक सद्भाव कायम राखि युवाहरुलाई विभिन्न कुलतबाट जोगाई राख्न तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याती प्राप्त गर्ने उद्देश्यले कार्यविधि बनाई सन्तोष महतको अध्यक्षतामा समिति बनाएर सञ्चालन भइरहेको गणेशमान स्मृति फुटसलमा केही व्यक्तिको कमाई खाने भाँडो बन्दा पनि स्थानीय सरकार, जनप्रतिनिधि तथा सरोकारवाला निकाय चुईक्क नबोल्नु भनेको यहीबाट स्पष्ट हुन्छ, काले काले मिलेर खाउँ भाले ।

फुटसलबाट उठेको पैसा सिधै खल्तीमा हाल्दै आएका सन्तोष महत र मानस कोइरालाले तीन वर्षदेखि कति पैसा असुले होलान् त्यो अनुमानसम्म पनि गर्न सकिदैन । उनीहरुले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्दै लौह पुरुष गणेशमान सिंहको नामलाई नै धब्बा लाग्ने गरी लुट्दै आएको फुटसलको आम्दानीको खोजी गरिनु पर्छ । रात रहे अग्राख पलाउँछ भन्छन्, यदी उनीहरुले गरेका यस्ता गतिविधिलाई सम्बन्धित निकायले आँखा चिम्लने हो भने समाजमा कसरी सुशासन कायम होला ? भनिन्छ आलुको बोरामा एउटा आलु कुहिए त्यसले सबैलाई विर्गाछ, त्यसैले त्यसलाई झिकेर फाल्नुपर्छ, यदी उनीहरुले गरेका गलत कामलाई उन्मुक्ति दिने हो भने यस्तो परिपार्टी भुसमा आगो सक्किएझै अन्यत्र पनि नसल्किएला भन्न सकिदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय