अविरल वर्षासँगै खसेको पहिरोका कारण कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत कालिकोट जिल्लाको गगने खोला र दैलेख जिल्लाको जितेमा खसेको पहिरोले आज बिहानदेखि सवारी आवतजावत ठप्प भएको हो। प्रहरीका अनुसार, विगत केही दिनदेखिको लगातारको वर्षाले सडकमा थुप्रै स्थानमा पहिरो खसेको छ भने गगने खोलामा खसेको पहिरो खासै जोखिमपूर्ण अवस्थामा छ। सडक अबरुद्ध भएपछि कालिकोट, जुम्ला, मुगु, बाजुरा, हुम्ला र सुर्खेततर्फ आउजाउ गर्ने मालवाहक र सार्वजनिक यातायातका सयौँ सवारी साधन बीच बाटोमै रोकिएका छन्।
यात्रु र चालक मारमा
सडक अबरुद्ध भएपछि यात्रुहरू निकै ठूलो समस्यामा परेका छन्। बाटोमै रोकिएका सवारी साधनहरूमा खाद्यान्न, औषधि लगायतका अत्यावश्यक सामग्री बोकेको ट्रक र जीपहरू पनि छन्। लामो यात्रा गरिरहेका यात्रुहरू न त अगाडि जान सक्ने अवस्थामा छन्, न त पछाडि फर्कन सक्ने। कालिकोटको रामनगरबाट सुर्खेत जाँदै गरेका बसका एक यात्रु रमेश शाहीले भने,हामी बिहानैदेखि यहीँ रोकिएका छौँ, खानेकुरा पनि सकिएको छ। बाटो कहिले खुल्ने हो थाहा छैन।



खोल्न प्रयास जारी
जिल्ला प्रहरी कार्यालय, कालिकोटले जनाएअनुसार डोजरमार्फत पहिरो पन्छाउने कामका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ। यद्यपि लगातारको वर्षाका कारण काममा कठिनाइ भइरहेको जनाइएको छ।सडक डिभिजन कार्यालय, सुर्खेतका एक इञ्जिनियरले बताए अनुसार, वातावरण अनुकूल भए सडक खुलाउन केही घण्टा लाग्न सक्छ, तर पानी नरोकेमा अझै ढिला हुनसक्छ।
खाद्यान्न संकटको जोखिम
यस सडकमार्ग हुँदै पहाडी तथा हिमाली जिल्ला जुम्ला, मुगु, हुम्ला, बाजुरा र कालिकोटमा दैनिक उपभोग्य सामग्री ढुवानी गरिँदै आएको छ। सडक अवरुद्ध हुँदा यी जिल्लामा खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तुहरूको अभाव हुने खतरा बढेको छ।
स्थानीयलाई सतर्क रहन आग्रह
प्रहरी तथा स्थानीय प्रशासनले यात्रुहरूलाई आवश्यक परेमा वैकल्पिक मार्ग अपनाउन र अत्यावश्यक कामबाहेक लामो यात्रा नगर्न सुझाव दिएका छन्। पहिरोको जोखिम अझै कायमै रहेकाले स्थानीय बासिन्दालाई पनि सतर्क रहन अनुरोध गरिएको छ। सडक खुलाउने प्रयास जारी रहे पनि अविरल वर्षा रोकिने नखुलेसम्म तत्काल सडक सञ्चालनमा आउन कठिन हुने अनुमान गरिएको छ।




