
कञ्चनपुरको दोधारा चाँदनीमा गतवषकको भारी वर्षापछिको बाढीले जोगबुडा नदीको विभिन्न स्थानमा बाँध भत्किएको थियो । यस वर्ष तटबन्ध निर्माणमा ढिलाई हुँदा सिंगो बस्ती नै जोखिममा परेको छ । दोधारा चाँदनी नगरपालिका १० स्थित जोगबुडा नदीमा तटबन्ध निर्माणमा ढिलाई हुँदा कुतियाकबरका ३९ घरधुरी जोखिममा परेका हुन् । यसवर्ष सरदरभन्दा बढि पानी पर्ने पूर्वानुमान गरिएसँगै कञ्चनपुरका बाढी प्रभावितहरु चिन्तामा छन् । उनीहरुमध्ये कतिपयले त सुरक्षित आश्रयको खोजीमा छन् भने कतिपयल मनसुन सुरु हुनु पूर्व नै आफ्ना बस्तुभाउ, अन्नपात र केटाकेटीसहित घर छोडेर अन्यत्र बसाइँ सर्न सुरु गरिसकेका छन् । ३९ घरधुरी रहेको कुतियाकबर, महाकाली र जोडबुढा नदीको दोभानमा पर्दछ । हरेक वर्ष बाढी तथा कटानको समस्या झेल्दै आएको यहाँका स्थानीय यो वर्ष बढि वर्षा हुने भनेपछि त्रसित बनेका छन् । २०७८ को बाढीले गोठका गाईबाख्रा तथा अन्न बगेपछि यसवर्ष केटाकेटी र बस्तुभाउ नै सारेको स्थानीय खड्के बुढाको भनाई छ ।



उसो त, कुतियाकबर क्षेत्रमा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै दुई वटा सुरक्षित आश्रयस्थलहरु निर्माण गरिएका छन् । जसले गर्दा यहाँका स्थानीयले केहि राहत महशुस त गरेका छन् । तर त्यसमा आफू जोगिएपनि अन्न र बस्तुभाउ कसरी जोगाउने भन्ने उनीहरुमा चिन्ता छ । जसले गर्दा कोहि अस्थायी बसाइँसराइँ गर्दै छन् भने कोहि अन्य विकल्पको खोजीमा जुटेका छन् । नेपाल भारत सीमामा रहेको कुतियाकबर २०२२ सालमा बसेको बस्ती हो । त्यसबेला यहाँ ४२ परिवारको बसोबास थियो र खेती गर्नका लागि प्रयाप्त जमिन थियो । तर अहिले जोगबुढा र महाकाली नदीमा आउने बाढीले घरहरु भत्काउदा धेरै परिवार विस्थापित भइसकेका छन् भने खेतहरु कटान हुदा प्रायः बाँझो देखिन्छन् ।