बेलायतको प्रविधि कम्पनी नथिङ ले आज आफ्नो नयाँ र बहुप्रतिक्षित स्मार्टफोन ‘नथिङ फोन थ्री’ सार्वजनिक गर्दैछ। कम्पनीले यसलाई आफ्नो सबैभन्दा महत्त्वपूर्ण स्मार्टफोनको रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ, जसलाई ‘पहिलो साँचो फ्ल्यागशिप स्मार्टफोन’ भनिएको छ।

यो फोन औपचारिक रूपमा सार्वजनिक हुनुअघि नै यसको क्यामेरा, प्रोसेसर र डिजाइनबारे केही जानकारीहरू बाहिरिएका छन्। नथिङका अघिल्ला फोनहरूमा देखिएको ‘ग्लिफ इन्टरफेस’ को सट्टामा यसमा ‘ग्लिफ म्याट्रिक्स’ नामक नयाँ डिजाइन तत्व समावेश हुने पुष्टि भएको छ।

लन्च इभेन्ट कसरी हेर्ने?
नथिङ फोन थ्रीको सार्वजनिक कार्यक्रम आज (जुलाई १, २०२५) बेलायतको लन्डनस्थित कम्पनीको मुख्यालयमा नेपाली समय अनुसार राति १०:४५ बजे सुरु हुनेछ। ‘नथिङ इभेन्ट: कम टु प्ले’ नाम दिइएको यो कार्यक्रम नथिङको आधिकारिक युट्युब च्यानलबाट सीधा प्रसारण हुनेछ।

अनुमानित मूल्य कति?
यसको आधिकारिक मूल्य सार्वजनिक नगरिए पनि, नथिङका प्रमुख कार्यकारी अधिकृत कार्ल पेईले मूल्य दायराबारे केही सङ्केत दिएका छन्। उनका अनुसार यसको सुरुवाती मूल्य करिब ८०० पाउन्ड स्टर्लिङ (नेपाली बजारमा डेढ लाख रुपैयाँको हाराहारीमा) हुन सक्नेछ।

केके होलान् प्रमुख विशेषताहरू?
विभिन्न प्राविधिक रिपोर्टहरू अनुसार, नथिङ फोन थ्रीमा निम्न मुख्य विशेषताहरू रहने अपेक्षा गरिएको छ:
* डिस्प्ले: ६.७ इन्चको एलटीपीओ ओएलईडी स्क्रिन, जसको रेजोलुसन १.५के (1.5K) र १२० हर्जको रिफ्रेस रेट हुनेछ।
* क्यामेरा: फोनको पछाडि तीनवटा क्यामेरा रहनेछन्। यसमा थ्री एक्स अप्टिकल जुम सहितको ५० मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो सेन्सर, ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ५० मेगापिक्सेलकै अल्ट्रा-वाइड-एंगल लेन्स समावेश हुने सम्भावना छ।
* प्रोसेसर: यस स्मार्टफोनमा स्न्यापड्रागन एट एस जेन फोर चिपसेट प्रयोग हुने अनुमान गरिएको छ। यसले नथिङ फोन टुको तुलनामा सीपीयूको कार्यक्षमतामा ३६%, जीपीयूमा ८८% र एनपीयूमा ६०% सुधार ल्याउने अपेक्षा गरिएको छ।
* सफ्टवेयर अपडेट: यो फोन एन्ड्रोइड अपरेटिङ सिस्टमको पाँच वर्षको अपडेट र सात वर्षको सुरक्षा प्याच सहित आउनेछ।
* ब्याट्री र चार्जिङ: अनुमानित जानकारी अनुसार, यसमा ५,१५० एमएएच क्षमताको ब्याट्री र १०० वाटको वायर्ड फास्ट चार्जिङ सपोर्ट रहनेछ। साथै, यसमा वायरलेस र रिभर्स वायरलेस चार्जिङको क्षमता पनि रहने सम्भावना छ।
यी जानकारीहरू सार्वजनिक रूपमा उपलब्ध भए पनि, यसको पूर्ण विवरण र आधिकारिक मूल्य भने आज रातिको लन्च इभेन्टमा मात्र खुल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय