लगातार चौथो जित हासिल गर्दै नेपाल मलेसियामा जारी एसीसी अन्डर सिक्सटिन इस्ट जोन कप प्रतियोगितामा समूह ए को विजेता भएको छ । अब नेपालले फाइनल प्रवेशका लागि समूह बीको उपविजेता मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

समूह चरणको अन्तिम खेलमा रौनक श्रीवास्तव एक्लैले १ सय ६८ रन बनाउँदा र कप्तान विपिनप्रसाद शर्माले चार विकेट लिँदा नेपालले आज भुटानविरुद्ध २ सय ९८ रनको सहज जित निकाल्यो ।  नेपालले दिएको ३ सय ५९ रनको विशाल लक्ष्य पछ्याएको भुटानले ३२ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै ६० रन मात्र बनाउन सक्यो । भुटानका लागि छिन्जाङ दावाले सर्वाधिक १४ र युगेन छोपेलले १० रन बनाउनु बाहेक अन्य कुनै पनि व्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपालका कप्तान शर्माले ४ विकेट लिने क्रममा १० ओभर बलिङ गर्दै ६ मेडन राखेर ७ रन खर्चिए । नेपालका सचिन भट्ट र  सुयोग भट्टराईले दुई–दुई विकेट लिए ।

यसअघि सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५८ रन बनायो । नेपालका लागि रौनकले १ सय ३२ बलमा १६ चौका ५ छक्का प्रहार गर्दै १६८ रनको शतकीय पारी खेले । जोय थापा ६१ रनमा अविजित रहे । शिवांस बजगाइँले ५४ र सुगम बुढाथोकीले ३५ रन बनाए। भुटानका साङ्या दोर्जीले तीन विकेट लिए । समूह ए बाट नेपालसहित सिंगापुर सेमिफाइलमा पुगेको छ । समूह बीबाट मलेसिया र हङकङ सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै समूह बीमा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् । सेमिफाइनलका खेल बिहीवार हुनेछ। फाइनल खेल शनिवार हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय