काठमाडौं । सहरी विकास मन्त्रालयले काठमाडौंको चोभार गल्छीका चट्टान नफुटाउने बताएको छ । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफुटाउने उल्लेख गर्दै फोहोर भने हटाउने बताएको हो ।

अविरल वर्षाले चोभार गल्छी आसपास डुबानको समस्या आएपछि फोहोर व्यवस्थापन गरिने लागेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले ऐतिहासिक चट्टानहरू हटाउने कुनै योजना नभएको उल्लेख गर्दै अनावश्यक रुपमा भ्रम फैलाउने काम भएको बताएको छ ।

दीर्घकालीन डुबान समस्या समाधानका लागि सहरी विकास मन्त्रालयले आफ्नो उद्देश्य स्पष्ट पार्दै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको चोभार गल्छीको मौलिक स्वरूपलाई जोगाउँदै डुबान न्यूनीकरण गर्न फोहोरको व्यवस्थापन गरिने उल्लेख गरेको छ ।

यही असार १४ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२औं बैठकले चोभार गल्छीमा सम्भावित डुबान न्यूनीकरण गर्न नेपाली सेनासँग समन्वयमा आवश्यक कदम चाल्न निर्देशन दिइएपछि सामाजिक सञ्जाल र विभिन्न राजनीतिक वृत्तहरूमा यस विषयलाई लिएर विभिन्न धारणा सार्वजनिक भएको भन्दै मन्त्रालयले असन्तुष्टि जनाएको छ ।

विपद् न्यूनीकरणसँग सम्बन्धित निर्णयहरूमा जनचासो बढ्दो रहेको बेला मन्त्रालयको यो स्पष्टिकरणले विवादको निराकरण गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय