काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सरकार लागि परेको बताउनु भएको छ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिद्वारा चन्द्रागिरि नगरपालिका–७ मा नवनिर्मित भवनको उद्घाटन गर्नु हुँदै मन्त्री दाहालले यातायात क्षेत्रसँग सम्बन्धित विभिन्न कानुन संशोधनलाई मन्त्रालयले प्राथमिकतामा राखेको काम गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले सवारीसाधनलाई भारबहन क्षमताअनुसार सञ्चालन गर्ने प्रबन्ध कडाइका साथ लागू गरिने पनि बताउनुभयो । मन्त्री दाहालले सडकको क्षमता भन्दा बढी मालबाहक सवारीसाधन संचालन हुँदा पुल तथा सडकमा ठूलो नोक्सानी हुने गरेको भन्दै सीमा क्षेत्रदेखि नै यसको नियन्त्रण गरिने उल्लेख गर्नुभयो ।

मन्त्री दाहालले देशमा केही भएन र हुँदैन भन्ने भ्रमलाई एशियन मापदण्डमा बिस्तार भइरहेको पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडक, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग तथा अबको केही महिनामै नागढुंगा सुरुङ मार्ग पूर्णरुपमा संचालनमा आउने हुँदा केही भएन भन्ने भ्रम चिरिरहेकोसमेत जिकिर गर्नुभयो ।

यस्तै, उत्तर दक्षिण करिडोरका रूपमा निर्माण भइरहेका राजमार्गले नेपाललाई चीन र भारतसँगको पहुँचलाई पनि बलियो बनाइरहेको मन्त्री दाहालको भनाइ छ । हुम्लामा पुल बनेसँगै नेपालका सबै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको भन्दै उहाँले अब विकासलाई उत्पादनसँग जोड्न जरुरी छ भन्नुभयो ।

नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका अध्यक्ष कृष्ण पन्तले ट्राफिक चेकिङ बैज्ञानिक हुन नसक्दा यातायात व्यवासायीले दुःख पाइरहेको बताउनु भयो । उहाँले अन्य सवारी साधन २४सैं घण्टा गुड्ने तर ट्रक, ट्रिपरलाई रातको समय मात्र निर्धारण गरिंदा व्यवसाय धरासायी अवस्थामा पुगेको र त्यससँगै धादिङ देखि काठमाडौंसम्म आइपुग्दा कम्तिमा पनि दश ठाउँमा ट्राफिक चेकिङ हुँदा झन् समस्यामा परेको भन्दै गुनासो गर्नुभयो ।

अध्यक्ष पन्तले मन्त्री दाहालसमक्ष समितिले २ वटा माग राख्ने र उक्त माग सम्बोधन गरिदिन आग्रह गर्नुभयो । उहाँले ट्रिपर संचालनको लागि राति ९ बजेदेखि विहान ५ बजेसम्मको समयलाई मध्येनजर गर्दै बेलुका ७ बजेदेखि लागु गरिदिई सहयोग गरिदिन हुन अनुरोध गर्नुभयो । साथै पन्तले ट्रिपरलाई राक्षसको संज्ञा दिएर व्यवसायीलाई निरुत्साहित हुने काम भएको भन्दै बारम्बारको ट्राफिक चेकिङले उकालोमा लोड गाडीमा मार पर्ने र दशौं ठाउँमा हुने चेकिङले समयमा पुग्न कठिन हुने गरेकोले त्यस्ता गतिविधिलाई हटाई सहयोग गरिदिन पनि मन्त्री समक्ष आग्रह गर्नुभयो ।

अध्यक्ष पन्तले समितिको भवन १ करोड ११ लाखको लागतमा निर्माण सम्पन्न भएको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डे, कृष्णगोपाल श्रेष्ठ, चन्द्रागिरि नगरपालिकाको कार्यबहाक मेयर बसन्ती श्रेष्ठ, यातायात व्यवसायी महासंघका अध्यक्ष विजय स्वार, यातायात व्यवसायी, मजदुर नेतालगायतले आफ्नो धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय