
कंचनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ सुनौलो तोप चराको गणनाको कार्य सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघ े(विसिएन) को आयोजना र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा आजबाट पाँच दिनसम्म तोप चरा गणना कार्य सुरु गरिएको हो ।
निकुञ्जसँगै दुई दिन निकुञ्ज बाह्य क्षेत्रमा पनि गणनको कार्य हुनेछ । निकुञ्जभित्रका सिकारी ताल, शुक्लाफाँट, मालुवेला, लालपानी, हरैया फाँटा, पन्छीताल, वीरसिंह टापु, सुन्दरीफाँटा, सिंहपुरफाँटा, लालपानी, राधापुरफाँटा, बढनी खेरा, अण्डैयापटैयालगायत क्षेत्रमा गणना कार्य गरिनेछ । गणनका क्रममा चराको संख्यासँगै भाले, पोथीको संख्या पनि यकिन गरिनेछ । योसँगै गुँडको अवस्था कस्तो छ, कुन प्रजातिका रूखमा गुँड लगाउने गरेको छ, रूखको उचाइ, त्यस क्षेत्रमा रहेको घाँसका प्रजाति, आहाराको अवस्था, सिकारी चराले पुर्याउने नोक्सानी, सुरक्षा चुनौती लगायतबारे अध्ययन र अनुसन्धान पनि गरिनेछ ।



दक्षिण एसियाको नेपाल र भारतमा मात्रै पाइने सुनौलो तोपको अवस्था अध्ययनको कार्य गरी त्यसैअनुरुप संरक्षणको योजना बनाइने छ । नेपालका संरक्षित क्षेत्रमध्ये शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा मात्रै सुनौलो तोप चरा पाइन्छ । निकुञ्जको घाँसेमैदानका बीच भागमा यस चराले गुँड लगाउने गर्दछ । झट्ट हेर्दा भँगेराजस्तै देखिने र पहेँलो रङको हुने भएकाले यसलाई सुनौलो तोप चरा भनिएको हो ।
सुनौलो तोप चराले अन्य समयमा भन्दा मनसुनको समय बढी प्रजनन गर्ने गर्दछ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा सुनौलो तोप चरासँगै ४ सय बढी प्रजातिका चरा पाइन्छन् ।