चन्द्रागिरि नगरपालिका भित्र डोजरले आतंक मच्चाए जस्तै अहिले जमीन प्वाल पार्ने मेसिन बोरिङ मेसिनको आतंक मच्चिएको छ । जता हेर्यो त्यतै, जहाँ हेर्यो त्यही बोरिङ गर्नेको होडबाजी चलेको छ । चन्द्रागिरि नगरपालिकाको स्पष्ट नीति नहुँदा नगर क्षेत्र भित्र मनलाग्दी ढंगले आफु खुशी जमीन प्वाल पार्दै पानी निकालिने होडबाजी नै चलेको छ । नगरपालिका भित्र निजी खानेपानी कम्पनी हुन् या खानेपानी समिति नगरपालिकाले नै नगरबासीलाई पानी खुवाउने नाममा अन्दाधुन्द जमीन प्वाल पार्ने मेसिन चलाई रहेको छ । खानेपानी समितिहरुले पनि आफ्नो क्षेत्राधिकार बढाउने भन्दै पानीको लागि प्वाल पार्ने बाहेकको अर्को कुनै विकल्प देखेका छैनन् ।

के भन्छन्, भूगर्वविद् डा. नारायण अधिकारी ?

बोरिङ खानेपानीको स्रोत मध्ये एक हो । जसलाई हामी भूमिगत जलस्रोत भन्छौ । तर खानेपानीको विकल्प बोरिङ होइन । भूमिगत पानी निकाल्ने दुई थरी प्रणाली हुन्छन् । एउटा अक्ट्युफर जसलाई पानी धारण गर्ने तत्व भनिन्छ । त्यसलाई त्यसको गहिराई अथवा भौगर्भिक अवस्थितिको आधारमा अन्कन्फाइन र कन्फाइन भन्छौं । अन्कन्फाइन अक्ट्युफर वर्षाको पानीले सजिलै रिचार्ज हुन्छ । तर, डिप बोरिङबाट खनिने सजिलो चाँही हुँदैन । कतिपय अध्ययनहरुले काठमाडौं उपत्यकाको भित्रको डिप अक्ट्युफर पानी धेरै पुरानो पानी भएको देखाएको छ । मुख्य कुरा बोरिङबाट कति पानी निकाल्न मिल्छ भन्ने कुरा विस्तृत रुपमा भौगर्भिक अध्ययन गरेर त्यो कस्तो ठाउँमा छ ? अनि कस्तो ठाउँको तहलाई क्याच गर्न खोजिरहेका छौं त्यो बोरिङबाट । कुन ठाउँमा जाली राखिएको छ ती सबै कुराहरुमा भर पर्छ ।

डा. अधिकारी भन्नुहुन्छ, कानुनी प्रक्रियाको कुरा गर्दा अहिले स्थानीय सरकार संचालन ऐन २०१४ ले स्थानीय निकायहरुलाई केही अधिकार दिएको छ । तर, प्राविधिक पाटोबाट हेर्ने हो भने जुनसुकै निकाय संघ, प्रदेश, स्थानीय निकायले पनि भूमिगत जलस्रोतको उत्खनन्को अधिकार दिँदै गर्दा धेरै कुरामा विचार पुराउनु पर्ने बताउनु हुन्छ । कुन निकायले दियो भन्दा पनि के गरेर दियो भन्ने कुरामा ध्यान दिनु जरुरी छ । अनुमति दिँदै गर्दा त्यो निकायसँग प्राविधिक ज्ञान छ या छैन । त्यो अध्ययन भएको छ या छैन त्यो महत्वपूर्ण हुन्छ । कुनै ठाउँमा बोरिङ गर्नु पहिले त्यो ठाउँको विस्तृत भौगर्भिक तथा भूभौतिक (जियोजिकल मेथड) हुनु आवश्यक छ । अनि त्यसको आधारमा जमीन मुनि कस्ता कस्ता माटो तथा बालुवाका तहहरु छन् । कुन कुन तहलाई ट्याप गरेर कतिसम्म पानी निकाल्न सक्छौं भन्ने जानकारी उक्त मेथडले दिन्छ । त्यो गरिसकेपछि प्राविधिकै निगरानीमा जुन बोरिङ गर्छौं त्यसमा जालीहरु राख्नुपर्ने हुन्छ त्यो जालीको डिजाइन गर्नुपर्छ र त्यो जालीको डिजाइन गरिसकेपछि कुन गहिराइमा कुन जाली बस्ने कुरा प्राविधिकले नै भनेपछि मात्र राख्नुपर्ने हुन्छ । त्यत्तिकै बोरिङ गर्ने र जाली राख्ने गर्नुहुँदैन । किनभने जुन लेयरमा जाली रहनुपर्ने हो त्यो लेयरमा जाली नपर्ने हुनसक्छ । नपर्नु पर्ने लेयरमा जाली पर्दा त्यसले समस्या निम्त्याउँछ । अनि अर्को कुरा बोरिङ गरिसकेपछि हरेक वर्ष त्यो बोरिङबाट कति पानी निस्किराखेको छ कति क्षमताको पम्प प्रयोग भइरहेको छ र त्यो बोरिङबाट निस्किएको पानीको अवस्था कस्तो छ ? सङ्ग्लो पानी छ कि हिलो मिसिएको पानी निस्किरहेको छ त्यसको पनि अनुगमन पर्ने बताउनु हुन्छ ।

काठमाडौंको अवस्था ?

काठमाडौं भित्र काठमाडौं उपत्यका खानेपानी बोर्ड भन्ने निकाय छ । यसले करिव करिव २०११-२०१२ देखि काठमाडौंमा हुने डिप बोरिङलाई अनुगमन र नियन्त्रणको काम गर्दै आएको र लाइसेन्सिङको काम पनि गर्दै आएको छ । अहिले जति पनि डिप बोरिङहरु छन् यिनीहरुलाई अनुमति दिने काम पनि उसैको हो । काठमाडौंमा बोरिङको अध्ययन नभएको भने होइन । पहिला सुरु सुरुमा विदेशीको सहयोगमा खानेपानी परियोजनाहरु लागू भए त्यतिखेर थोरै संख्यामा बोरिङ थिए । त्यतिबेला जनसंख्या पनि थोरै थियो । रिचार्जहरु पनि राम्रोसँग हुन्थ्यो । त्यतिबेला रिचार्ज र डिस्चार्जको ब्यालेन्स थियो । अहिले शहरीकरण बढ्दा रिचार्ज हुने दर कम भयो । पछिल्लो चरणमा इन्सार भन्ने प्रविधिबाट अध्ययन भएको छ । यो स्याटलाइटमा आधारित प्रविधि हो । यसले जमीनको सतहमा भएको सानो भन्दा सानो घटबढलाई पनि पहिचान गर्छ । २०७२ सालको भूकम्प पछि गरिएको अध्ययनमा काठमाडौं उपत्यकाभित्रका धेरै स्थानहरुमा जमीन धसिने समस्या देखिएको छ । काठमाडौंका केही भागहरु भासिने दर अत्यन्तै उच्च रहेको अध्ययनले देखाएको छ । अध्ययन प्रतिवेदनअनुसार काठमाडौंको भासिने दर प्रतिवर्ष २० सेन्टिमिटरसम्म पुगेको उल्लेख छ । प्रतिवेदनमा जमीन भासिने दर जहाँ बोरिङ बढी छ त्यही नै उच्च रहेको छ । बैज्ञानिक अध्ययनहरुले पनि बोरिङ भएका स्थान र भासिने दर बढी देखाएको छ ।

कति दूरीमा गर्ने बोरिङ ?

बोरिङको क्षमता हेरी बोरिङको दूरी निर्धारण गर्न सकिन्छ । ठूलो क्षमताका बोरिङ नजिकै गर्नु हुँदैन । सानो क्षमताकोलाई पनि बैज्ञानिक आधारमा निश्चित दुरीमा गर्नुपर्ने हुन्छ । बोरिङ गर्दा अनुमानको भरमा गर्नु हुँदैन । दुरीको विस्तृत अध्ययन भएर वैज्ञानिक तरिकाले गर्नुपर्छ । दक्षिण अमेरिकाको मेक्सिकोमा अन्धाधुन्द पानी निकाल्दा जमीन नै भासियो । भूगर्वविद् विश्वप्रकाश पाण्डेको एक अध्ययनले ९ क्युविक विलियन रिचार्ज भई रहँदा काठमाडौंमा मात्र ३६ क्युविक विलियन डिस्चार्ज भइरहेको तथ्यांक देखाएको छ । यसैबाट स्पष्ट हुन्छ कि काठमाडौंबाट ४ गुणा बढी जमीन मुनिको पानी डिस्चार्ज भइरहेको छ । यो भनेको सन्तुलन हुने सम्भावना नै छैन । जथाभावी आफुखुशी जमीन प्वाल पारेर पानी निकाल्दा पानी र जमीनको सतहको दूरी बढ्न गई जमीन भासिएर ठूलो क्षति नहोला भन्न सकिदैन ।

यस्तै चन्द्रागिरि नगरपालिका भित्र पनि डिप बोरिङ गर्नेको संख्या दिनप्रतिदिन बढ्दो छ । डिप बोरिङ गर्दा सम्बन्धित निकायसँग न कुनै स्वीकृति लिइन्छ न विज्ञको सुझाव नै । आफुखुशी मनलाग्दी ढंगले अहिले वडा नम्बर १०, ११ र ३ नम्बर वडामा डिप बोरिङ भइरहेको छ ।

यस्तै डिप बोरिङ वडा नम्बर ६ मा पनि गर्न खोजिएको छ । वडा अध्यक्ष संजय सिग्देलको हस्ताक्षरमा रहेको सूचनामा महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई गुमालचोकी सामुदायिक वन क्षेत्र भित्र डिप बोरिङ गर्न दिनको लागि स्थानीयको सहमति जुटाउन खोजेको देखिन्छ । आफ्नो अधिकार क्षेत्रलाई नै विर्सिर वडा अध्यक्ष संजय सिग्देलले सूचना प्रकाशन गर्दै वडाका जनप्रतिनिधि, इलाका वन कार्यालयका प्रतिनिधि, खानेपानी समितिका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि र स्थानीयलाई समेटेर बोरिङ गर्न स्वीकृति लिन खोजेका छन् । खानेपानी समितिलाई वडाले चलाखीपूर्ण ढंगले स्थानीयलाई साक्षी बनाउँदै मापदण्डविपरित बोरिङ गर्न दिन खोजेको स्पष्ट देखिन्छ । वडाले बोरिङ गर्न खोजेकै हो भने किन भूगर्वविद्लाई छलफलमा डाकेर सल्लाह लिन सक्दैन ?

हामीले केही दिन अघि चन्द्रागिरिको सरकारी सम्पत्ति कोहीलाई माथैमाथ, कोहीलाई पुर्पुरोमा हात भन्ने शीर्षकमा महादेवस्थान मातातीर्थ खानेपानी समितिको कर्तुतको विषयमा समाचार प्रकाशन गरेका थियौं । उक्त समाचारमा खानेपानी समितिले खोला र सार्वजनिक जग्गामा मापदण्डविपरित भवन निर्माण गर्दै भाडा असुली गर्दै आएको भनि समाचार सम्प्रेषण गरेसँगै खानेपानी समिति विवादमा तानिएको थियो । समितिले यसअघि नै बोरिङ गर्नका लागि दौडधुप गर्दै आएको थियो । समाचार आएपछि विवादमा तानिएको महादेवस्थान मातातीर्थ खानेपानी तथा उपभोक्ता समितिको बोरिङ गर्ने सपना तुहिएको थियो ।

चन्द्रागिरिको सरकारी सम्पत्ति कोहीलाई माथैमाथ, कोहीको पुर्पुरोमा हात !

चन्द्रागिरि नगरपालिका भित्र रहेको खानेपानी समिति मध्येकै सबै भन्दा ठूलो खानेपानी समिति भएको दाबी गर्दै आएको महादेवस्थान मातातीर्थ खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आफ्नो क्षेत्राधिकार बढाउने नाममा भूगर्वविद्को सल्लाह वेगर नै अहिले जमीन प्वाल पार्ने सोचका साथ अघि बढेको देखिन्छ । उपभोक्ता समितिले महाँकाल स्थान सामुदायिक वनमा डिप बोरिङ गर्न खोज्दा वन समितिले स्वीकृति नदिएपछि अहिले वडा अध्यक्ष संजय सिग्देलको पहलमा गुमालचोकी सामुदायिक वन क्षेत्रमा डिप बोरिङ गर्न खोजिएको छ । वडाले जुन ठाउँमा बोरिङ गर्न स्वीकृति दिन खोजेको छ उक्त ठाउँमा अहिले पनि डिप बोरिङ यथावत छ । भूगर्वविद्को भनाई अनुसार यस क्षेत्रमा थप डिप बोरिङ गर्न उपर्युक्त हुन्छ त ? एक चोटी सबैले गम्भीर भएर सोच्ने हो कि ?

खानेपानी समितिको वडा नम्बर ६ र ७ मा गरेर वन क्षेत्र र सार्वजनिक जग्गामा गरी ८–९ वटा बोरिङ गरिसकेको छ । इलाका वन कार्यालयका प्रमुख विन्दु सुवेदीले यसअघि प्रक्रिया बेगर वन क्षेत्रमा कुनै पनि गतिविधि नगर्न चेतावनी खानेपानी समिति र सामुदायिक वनलाई दिएपछि तत्कालको लागि रोकिएको बोरिङ किन फेरी र्जुमुराउँदै छ ? केही दिनअघि खानेपानी समितिले वन समितिलाई वर्षको ९० हजार रुपैयाँ दिने सहमति भएकै भरमा बोरिङ गर्न दिन खोजिएको हो भने त्यो जतिको दुर्भाग्य के हुन सक्छ ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय