
पर्वत । प्रदेश अस्पताल पर्वतले विशेषज्ञ चिकित्सकबाट सेवा प्रवाह सुरू गरेको छ ।नेपाल सरकारले ३५ वर्षअघि पर्वतमा १५ शैयाको अस्पताल संचालनकोलागि अनुमति दिएको थियो । १५ शैंयाको अनुमति पाएपनि ६४ शैयाबाट सेवा प्रवाह गरेको अस्पताल गण्डकी प्रदेश सरकारले हालैमात्र ५० शैंयाको अस्पतालको रूपमा स्तरोन्नति गरेको छ । तर स्तरोन्नति भएपछि पाउनुपर्ने जनशक्तिको व्यवस्थापन नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक व्यवस्थापन र प्रदेश स्वास्थ्य मन्त्रालयको समन्वयमा विशेषज्ञबाट सेवा दिन सुरू भएको छ ।
अस्पतालमा हाडजोर्नी, बाल रोग र स्त्री रोग विशेषज्ञबाट सेवा दिन सुरू गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाले अस्पतालको स्तरोन्नति भएकै कारण प्रदेश सरकारबाट दरबन्दी थप नभइसकेको अवस्थामा अस्पतालको आन्तरिक स्रोत र नेपाल सरकारको छात्रवृत्ति कोटाबाट विशेषज्ञ सेवा दिन सुरू गरिएको जानकारी दिनुभयो ।



अस्पतालमा रहेको पोषण कार्यक्रमअन्तर्गत अस्पतालको स्रोतबाट बेहोर्ने गरी बालरोग विशेषज्ञको रूपमा डा. प्रकाश गौतम, हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रूपमा डा. ढुण्डीराज पौडेल, स्त्री तथा प्रसूति रोग विशेषज्ञको रूपमा डा. प्रियसा अधिकारी र एनेस्थेसियालोजिस्टको रूपमा डा. बालकृष्ण श्रेष्ठले सेवा दिनु हुनेछ ।
गण्डकी प्रदेश सरकारले हाडजोर्नीको उपचारको लागि नयाँ उपकरण उपलब्ध गराउन लागेकाले पनि अब पर्वतसहित आसपासको क्षेत्रका बिरामीलाई हाड जोर्नीका चिकित्सक खोज्दै पोखरा वा अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हट्ने छ ।
सरकारबाट प्राप्त भएका र अस्पताल आफैंले व्यवस्थापन गरेको गरी कूल ११० जना जनशक्तिबाट सञ्चालनमा रहेको छ । केही वर्ष अघिसम्म दैनिक करिब ४० देखि ४५ जना बिरामीलाई सेवा प्रदान गर्ने गरेको अस्पतालले अहिले दैनिक करिब ३ सय भन्दा बढी बिरामीलाई सेवा दिंदै आएको छ ।