चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई जर्मन विकास बैंक९केएफडब्लु० रु एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्नेछ ।

सो सहयोगमा मन्त्रालय, नगर प्रमुख घनश्याम गिरी र बैंकका प्रतिनिधिका बीचमा हालै प्रारम्भिक सम्झौतासमेत भइसकेको छ । सम्झौताका अनुसार अस्पताल चार वर्षभित्रमा सम्पन्न हुने जनाइएको छ । नगरपालिकाको समन्वय र सहकार्यमा मन्त्रालय र केएफडब्लुले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयारी अन्तिम चरणमा पुर्याएका छन् । नगरप्रमुख गिरीले भने, “डिपिआरको काम सम्पन्न भएसँगै भवन पूर्वाधारको काम अगाडि बढ्छ । निर्धारित समयभित्र अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहयोग र समन्वय गर्छ । यस क्षेत्रमा जनशक्ति, उपकरण र पूर्वाधारमा अस्पताललाई उत्कृष्ट बनाउँछौँ । नगरवासीले चाहेको गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउन नगरपालिका प्रतिबद्ध छ ।”

अस्पतालले काठमाडौँ जिल्लाका दक्षिण पश्चिम भेगका थानकोट, दहचोक, नैकाप, नयाँ भञ्ज्याङ, वाड भञ्ज्याङ, बलम्बु, महादेवस्थान, तीनथाना, सतङ्गल, मातातीर्थ, मच्छेगाउँ र नैकाप पुरानो भञ्ज्याङ बासिन्दालाई विशेष सुविधा पुर्याउने छ । साथै धादिङ, मकवानपुर र नुवाकोट बासिन्दालाई पनि सहज विशेषज्ञ चिकित्सक सेवा पुर्याउने अपेक्षा गरिएको छ ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका मातहतमा सो अस्पताल सञ्चालन हुने जनाइएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा नै १५ शय्याका अस्पताल सञ्चालनमा आइसकेको छ । प्रयोगशाला, आकस्मिक सेवा र बर्थिङ सेन्टरसहितको उत्कृष्ट सेवा अस्पतालले प्रदान गरिराखेको छ । अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग सेवा, परिवार नियोजन सेवा, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको अस्पतालका मेडिकल अधिकृत डा. हेमनाथ शर्माले जानकारी दिए । उत्कृष्ट कार्यसम्पादन गरेबापत नगरपालिकाको तर्फबाट हालै रु ५० हजार नगद पुरस्कार तथा सम्मानपत्र प्राप्त गरेको उनले भन्ने, “प्रयोगशाला, उपकरणसहित अस्पतालले उत्कृष्ट सेवा प्रदान गरिराखेको छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय