कैलाली — चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले भदौ १५ गते आइतबारदेखि कैलालीको गेटा अस्पताल परिसरबाट सत्याग्रह सुरु गर्नुभएको छ। सरकारले निजी मेडिकल कलेजलाई सिट वृद्धि दिने निर्णय गरेपछि त्यसको विरोधमा उत्रिनु भएका डा. केसीले तीन दिने सत्याग्रह सुरु गर्नुभएको हो। गेटा अस्पताल परिसरमा पत्रकार सम्मेलनमार्फत विज्ञप्ति जारी गर्दै डा. केसीले शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको माफियाकरणको कडा आलोचना गर्नुभयो। उहाँले प्रधानमन्त्रीको नेतृत्वमा सरकारले माफियाको दबाबमा निजी मेडिकल कलेजलाई फाइदा पुग्ने गरी निर्णय गरेको आरोप लगाउँदै जनस्वास्थ्य र शिक्षा प्रणालीमाथि ठूलो खतरा आएको बताउनुभयो।

“सरकार माफियाको प्रभावमा परेर गुणस्तरीय शिक्षा र स्वास्थ्य क्षेत्र तहस-नहस गर्न उद्यत भएको छ,” विज्ञप्तिमा उल्लेख छ। निजी मेडिकल कलेजहरूले पहिले नै अत्यधिक शुल्क असुल्दै आएको र सिट वृद्धि गर्दा गुणस्तर खस्कने, शिक्षा महँगो हुने र स्वास्थ्य सेवा आमनागरिकको पहुँचबाहिर पुग्ने केसीको तर्क छ।

गेटा अस्पताल र मेडिकल कलेजको माग

डा. केसीले गेटा अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र २०८४ सालभित्रै शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने माग राख्नुभएको छ। साथै, इलाम, उदयपुर, डडेलधुरा र गेटा मेडिकल कलेज तत्काल सञ्चालनमा ल्याउनुपर्ने उहाँको जोड छ। उहाँले ग्रामीण क्षेत्रमा आवश्यक जनशक्ति, स्रोत र पूर्वाधारको अभावका कारण नागरिकहरू उपचार नपाएर अकालमा ज्यान गुमाइरहेको उल्लेख गर्दै, राज्यको ध्यान स्वास्थ्यमा केन्द्रित हुनुपर्ने बताए।

सरकारलाई चेतावनी

डा. केसीले विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै, माफियाकरण अन्त्य नहुन्जेल आन्दोलन जारी राख्ने चेतावनी दिनुभएको छ। विगतमा पनि उहाँका अनशनपछि चिकित्सा शिक्षा ऐन पारित गरिएको, शुल्क निर्धारण गरिएको र सिट व्यवस्थापनमा सुधार गरिएको थियो। तर, हाल फेरि सोही प्रकृतिका निर्णय हुँदा उहाँ पुनः सडकमा आउन बाध्य हुनुभएको बताउनुभयो।

भूराजनीति र मानव अधिकारसम्बन्धी माग पनि

सत्याग्रहको क्रममा डा. केसीले भारतसँग लिपुलेक हुँदै व्यापार गर्ने सहमतिलाई सीमा मिचिएको भन्दै विरोध गर्नुभएको छ। साथै, रुसद्वारा युक्रेनमाथि र इजरायलद्वारा गाजामाथि भएको आक्रमणलाई मानवताविरोधी अपराध भन्दै तत्काल रोक्नुपर्ने माग पनि राख्नुभएको छ।

जनस्वास्थ्यका पक्षमा सत्याग्रह

डा. केसीले शिक्षा र स्वास्थ्यजस्ता अत्यावश्यक सेवालाई नेताको स्वार्थ र माफियाको नियन्त्रणबाट जोगाउन आग्रह गर्दै, आफू आमनागरिकको हकहितका लागि सत्याग्रहमा उत्रिएको स्पष्ट गर्नुभएको छ। डा. केसीको सत्याग्रहले पुनः सरकार र सम्बन्धित निकायलाई चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारतर्फ ध्यान केन्द्रित गराउने अपेक्षा गरिएको छ। सत्याग्रहको समापन तथा त्यसबाट निस्कने सम्भावित परिणामप्रति देशभर नजर रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय