काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका कारण सबैभन्दा चर्चित ठाउँ हो दार्चुलाको ब्यास गाउँपालिका । त्यहीँ गाउँपालिकाको वडा नम्बर १ भित्रै पर्छन् छाङ्गरु र तिङ्कर गाउँ । तर त्यहीँ नेपालको अधिनमा रहेको छाङ्गरु र तिङ्कर पुग्न न पैदल बाटो छ न फोन गर्न सञ्चार सुविधा नै । अहिले पनि यहाँका दुई गाउँका नागरिक भारतीय सडक हुँदै गाउँ पुग्छन् । पैदल बाटो अवरुद्ध भएको र सञ्चार सेवा नहुँदा यहाँको जनजीवन कष्टकर बनेको छ ।
छाङ्गरुबाट तिङ्कर गाउँ पुग्न १० किलोमिटर दूरी छ । छाङ्गरुबाट तिङ्कर गाउँ पुग्नै अहिले पैदल बाटो अवरुद्ध भएको छ । गत साउन २८ गतेको बाढीले छाङ्गरु र तिङ्करको सम्पर्कविच्छेद भएको हो । छाङ्गरुदेखि तिङ्कर गाउँ पुग्ने ठाउँ ठाउँमा बाटो बाढीले बगाएको छ । मङ्सिरमा तिङ्करवासीको बसाइँसराइ खलङ्गा झर्ने बेला कसरी फर्किने भन्ने चिन्ता भएको छ ।



बाटो बाढीले बगाएकै कारण गाउँमा खाद्यान्नसमेत ढुवानी गर्न असहज भएको वडा नम्बर १ का वडासचिव विनोदसिंह बुढाथोकी बताउनुहुन्छ । अहिले स्थानीयले पुरानै मौज्दात खाद्यान्न खाइरहेका छन् । यस्तै बाटोको अवस्था रहने हो भने गाउँमा खाद्यान्न अभाव हुने अवस्था छ ।
स्थानीय अनुसार तिङ्कर गाउँमा सञ्चार नभएको तीन साता बढी भयो । गाउँ नेटवर्कविहिन छ । स्थानीयले अहिले आफन्तसम्म खबर गर्न सुरक्षाकर्मीको सेट प्रयोग गर्नुपर्ने बाध्यता बनेको छ । तिङ्करबाट छाङ्गरु गाउँ आउन तीन घण्टा एकतर्फी हिँड्नुपर्छ । छाङ्गरुमा नेपाल टेलिकमको नमस्ते फोनले काम गरे पनि तिङ्करवासीले भने सञ्चारबाट वञ्चित हुनुपरेको स्थानीय गुनासो गर्दछन् ।
ब्यास–१ को तिङ्करमा ७० परिवारको बसोबास छ । यहाँका नागरिक गत जेठमा कुञ्चा सरेका थिए । तिङ्करभन्दा छियालेकमा सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरी बसेका छन् । टेलिकमको सेवा अवरुद्ध भएसँगै सुरक्षाकर्मीले समेत आफन्त परिवारसँग कुराकानी गर्न पाएका छैनन् ।
गत वर्ष सङ्घीय सरकारको विशेष अनुदानमा ब्यास–२ दुम्लीङदेखि तम्बाकु, माल्पा, घाटीबगड, बयली, दोपखे, पोला, गिरकिस्से, बुदी अपिखोला र कुन्तीसाउसम्म २० किलोमिटर बाटो निर्माण तथा मर्मत गरेको छ । त्योभन्दा अहिले पनि नागरिकको लागि हिँड्डुल गर्न पैदल बाटो राम्रो छैन । गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवरका अनुसार तिङ्कर सडकमा तुरुन्त आवश्यक बजेट, स्थानीय र सुरक्षाकर्मीलाई नेपालकै खाद्यान्न, आफ्नो भूमि भएर जाने बाटो बनाउनुपर्छ । “नभए यहाँका नागरिकको लागि हेलिकोप्टरको व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नागरिकका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्न नसक्ने तर जहिल्यै सीमाको विषय बल्झाइ रहँदा नागरिकले सास्ती खेप्नुपरेको छ ।”




