भदौ २३ र २४ गतेको जेनजी युवाहरूले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम सकिएपछि मृतकका परिवार तथा अभिभावकहरूले शव बुझेर पशुपति आर्यघाटमा लैजाँदै धार्मिक विधिअनुसार अन्त्येष्टि गरेका हुन्।
गत भदौ २३ र २४ गते देशभर भएका विरोध प्रदर्शन अत्यन्तै हिंस्रक बनेका थिए। प्रहरीको बल प्रयोग र भिडको प्रतिरोधबीच भएको घटनामा मृत्यु हुनेहरूको संख्या बढ्दै गएको छ। पछिल्लो प्रहरी तथ्यांक अनुसार हालसम्म ५१ जनाको मृत्यु भएको पुष्टि भएको छ। मृतकमध्ये काठमाडौं उपत्यकाका केही युवा, अन्य जिल्लाबाट प्रदर्शनमा सहभागी भएकाहरू, तीन जना प्रहरी, एक भारतीय महिला र नौ जना कैदीसमेत रहेका छन्। प्रहरीका अनुसार कैदीहरू जेलभित्रै भएको आगजनी र भिडन्तका कारण मारिएका हुन्।



आन्दोलनका क्रममा भएको ठूलो जनधनको क्षतिपछि सरकार र नागरिक समाज दुवैतर्फबाट चासो बढेको छ। मृतकको परिवारले न्यायको माग गरेका छन् भने प्रदर्शनमा घाइते भएकाहरू अझै विभिन्न अस्पतालमा उपचाररत छन्। विशेषज्ञहरूले आन्दोलनको स्वरूप नियन्त्रणभन्दा बाहिर गएको र सुरक्षाप्रहरीले बल प्रयोग गर्दा क्षति थप भयावह बनेको मूल्यांकन गरेका छन्। अहिले पनि केही स्थानमा तनाव कायमै रहेको बताइएको छ।











