काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन सामान्य बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज मध्यान्हसम्मको विवरणअनुसार मनसुनजन्य विपदबाट मुलुकभर ६ जना बेपत्ता भएका छन् भने २४ घाइते भएका छन् । सशस्त्र प्रहरी बलले भने मनसुनजन्य विपद् र यहीबीचको सवारी दुर्घटनासमेत गरी हालसम्म ५५ जनाको मुत्यु भएको जनाएको छ ।
कोसी प्रदेशको इलाममा मात्रै पहिरोमा परी ३७ जनाको निधन भएको छ । सो प्रदेशमा पहिरो तथा डुबानका कारण इलाम, झापा, मोरङ, सुनसरी, उदयपुरलगायत जिल्लामा मानवीय क्षति भएको छ । विपद् जोखिममा परेका १८ जनालाई यसबीचमा नेपाली सेनाको होलीकोप्टरबाट उद्धार गरिएको छ ।



कोसी प्रदेशमा मात्रै विभिन्न २२ घटनामा ४९ जनाको मृत्यु, एक बेपत्ता र १७ जना घाइते भएका छन् । झापाको झापा गाउँपालिकामा ४९० घरधुरी डुबानबाट प्रभावित भएकामा एक हजार ६६४ जनालाई सुरक्षित स्थानामा स्थानान्तरण गरिएको थियो । झापाको गौरीगञ्जमा १०५ घरमा पानी पसेपछि स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लगिएको थियो ।
साथै इलाममा बाढी तथा पहिरोबाट सात ठाउँमा सडक अवरुद्ध भएकाले केन्द्रीय टोली स्थलगत अवलोकनका लागि त्यसतर्फ जान सकेको छैन ।
कोशी प्रदेशको जनजीवन सामान्य बन्दै
अविरल वर्षा, बाढी र पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति भएको कोशी प्रदेशको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । सो प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पूर्वतयारी र विपद्पश्चात उद्धार तथा सहयोगका काम गरेको थियो ।
सुरक्षा निकायले मानवीय जीवनलाई पहिलो प्राथमिकतामा राखेर उद्धारका काम गरेको र पानी रोकिएकाले अहिलेसम्म उद्धारका काम पूरा भएको सुरक्षा निकायका कोसी प्रदेशका प्रमुुखहरुले बताएका छन् । झापाको आयरल्याण्डमा परेकालाई तथा पाँचथर र सङ्खुवासभाबाट गर्भवतीलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको छ । कोसीमा पानीको बहाव आइतबार प्रतिसेकेण्ड पाँच लाख ३३ हजार क्युसेक रहेकामा आज २ लाख ७७ क्युसेकमा झरेको छ ।




