असोज १८ र १९ गतेको वर्षा पछि आएको रोशी खोलाको बाढीले बगाएको बीपी राजमार्गको डाइभर्सन पुनः बनाउन शुरु भएको छ । रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले नमोबुद्ध र रोशी गाउँपालिकाको सिमानास्थल चौकीडाँडाबाट बगेका डाईभर्सन बनाउन शुरु भएको जानकारी दिए । खोलाको बहाव केहि कम भएपछि डाइभर्सन बनाउन शुरु भएको हो ।

सडक डिभिजन कार्यालय भक्तपुरले रोशी गाउँपालिका र नमोबद्ध नगरपालिकाको समन्वयमा राजमार्गमा बगेको डाइभर्सन पुनः निर्माण गर्न लागेको हो । पानीको बहाव कम हुँदै गएकोले सडक निर्माणको तयारी भएको सडक डिभिजन कार्यालय भक्तपुरको सूचना अधिकारी बिन्दु अधिकारीले जानकारी दिईन । ‘प्लान बन्दै छ, चौकीडाँडाको एक स्थानबाट भन्दा पनि ३÷४ स्थानबाट सडक बनाउन शुरु गर्ने भन्ने छ । सम्भावना भयो भने हाम्रो मेशीनहरु जहाँजहाँ छन त्यहि स्थानहरुमै डाइभर्सन निर्माण शुरु गर्छौ ।’–अधिकारीले भनिन । रोशी खोलाको किनारै किनार सडक लैजानुपर्ने र पानीको धार पनि भित्तासम्मै टासिएको हुनाले सडकको डाइभर्सन पुनःनिर्माणमा समस्या भएको अधिकारीको भनाई छ ।

डाइभर्सन बनाउन शुरु गर्नु अघि सरोकारवालाहरु बीचमा एक अर्कालाई सहयोग गर्ने निर्णय भएको छ । नमोबद्ध नगरपालिका नगर प्रमुख कुन्साङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा र सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गा प्रसादको विचमा चाँडो भन्दा चाँडो बीपी राजमार्ग खुलाउन, आवश्यक पर्ने पुलहरु निर्माणको लागि विशेष पहल गर्ने सहमति भएको छ । बीपी राजमार्गको रोशीखोला क्षेत्रमा गत वर्ष असोजमा आएको बाढीले बगाएपछि बनाइएको अस्थायी डाइभर्सन यस वर्षको असोज १८ देखि १९ गतेको वर्षा पछि आएको बाढीले पुनः बगाइदिएपछि अहिले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय