झापा — झापाको दमक–३ मा बनेको बहुप्रतिक्षित भ्यू टावर तोडफोड र आगजनीका कारण अहिले बन्द भएको छ । जेनजी आन्दोलनका क्रममा आक्रोशित समूहले गरेको तोडफोड र आगजनीका कारण टावरमा ठूलो क्षति पुगेको सहरी तथा भवन निर्माण कार्यालय, झापाका प्रमुख रमेश थिङले जानकारी दिएका छन् । उनका अनुसार करिब साढे २५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । यो भ्यू टावर करिब एक अर्ब ६४ करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो । तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले करिब दुई महिना अघि यसको उद्घाटन गरेका थिए । स्थानीय पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले दमक नगरपालिका र संघीय सरकारले संयुक्त लगानीमा टावर निर्माण गरेका थिए ।

३० तलाको संरचनामा बनाइएको यो टावरलाई स्थानीयले ‘पूर्वाञ्चलको आकर्षण केन्द्र’का रुपमा लिन थालेका थिए । टावर सञ्चालनमा आएपछि दमकमा पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको थियो । तर, तोडफोड र आगजनीका कारण सञ्चालन सुरु भएको दुई महिनामै टावर बन्द गर्नुपरेको छ । सहरी तथा भवन निर्माण कार्यालयले क्षतिको विस्तृत विवरण संकलन भइरहेको जनाएको छ । संरचनागत सुरक्षा मूल्याङ्कनपछि मात्र मर्मत सम्भव हुने वा नयाँ संरचना बनाउनुपर्ने भन्नेबारे निर्णय हुने जनाइएको छ ।

स्थानीय बासिन्दा भने यति ठूलो लागतमा बनेको पूर्वाञ्चलकै आधुनिक संरचना राजनीतिक अराजकता र हिंसात्मक गतिविधिका कारण क्षतिग्रस्त भएको भन्दै चिन्ता व्यक्त गरिरहेका छन् । उनीहरूको भनाइमा, टावरले दमक मात्र नभई पुरै प्रदेश १ को पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने सम्भावना बोकेको थियो, तर अहिले भविष्य अनिश्चित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय