धादिङ — पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएपछि धादिङको बेनीघाट क्षेत्रमा सवारीसाधनको असाध्यै चाप देखिएको छ। केही दिनदेखि लगातार परेको वर्षाले धादिङको विभिन्न स्थानमा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा बन्द भएको थियो। सडक विभाग, प्रहरी र स्थानीयको पहलमा अवरोध हटाइएपछि बिहानैदेखि यातायात सञ्चालनमा आएको हो।
राजमार्ग खुलेसँगै लामो दूरीका बस, मालबाहक ट्रक, माइक्रोबस र निजी सवारीसाधन एकैपटक सडकमा गुड्दा बेनीघाट क्षेत्रमा ठूलो भीड देखिएको छ। गन्तव्यतर्फ लागेका यात्रुहरुको संख्या असाध्यै बढेको र सामान बोकेका ट्रकहरुको लाइन देखिएपछि राजमार्गमा चाप झन् बढेको ट्राफिक प्रहरीले जनाएको छ। सडक संकुचित भएकाले बेनीघाट, गजुरी र आसपासका क्षेत्रमा लामो जाम हुने अवस्था बनेको छ। ट्राफिक प्रहरीले नियमित व्यवस्थापनका लागि अतिरिक्त प्रहरी खटाएको छ।



स्थानीय व्यवसायीहरुका अनुसार सडक खुलेसँगै यातायात चल्न थालेपछि दैनिक जीवन सामान्य बन्दै गएको छ तर राजमार्गमा अत्यधिक चापले यात्रु र चालक दुबैलाई असुविधा भइरहेको छ। यातायात व्यवसायीहरुले यात्रुहरुलाई सम्भव भएसम्म आवश्यक तयारी गरेर मात्र यात्रा गर्न आग्रह गरेका छन्।




