काठमाडौं — निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि आगामी कात्तिक ३० गतेसम्मको समय तोकेसँगै राजनीतिक वृत्तमा स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका नेताहरु कुन बाटो रोज्ने भन्ने प्रश्न उठेको छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आज बसेको पदाधिकारी बैठकले नयाँ दल दर्ता गर्न चाहने समूह वा व्यक्तिले तोकिएको म्यादभित्र दल दर्ता प्रमाणपत्र लिनुपर्ने निर्णय गरेको छ। समयसीमा नाघेपछि नयाँ दल दर्ता प्रक्रिया स्वतः बन्द हुनेछ।
यसबीचमा, स्वतन्त्र राजनीतिज्ञ हर्क साम्पाङले आधिकारिक रूपमा नयाँ दल खोलेर आफ्नो राजनीतिक यात्रा दलको संरचना मार्फत अघि बढाइसकेका छन्। तर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले भने अहिलेसम्म कुनै कदम नचालेको देखिन्छ। यही कारण अहिले राजनीतिक वृत्तमा प्रश्न उठ्न थालेको छ — “हर्कले दल खोले, बालेन के गर्ने ?”



विश्लेषकहरुका अनुसार बालेन शाहले अहिलेसम्म स्वतन्त्रताको छवि कायम राख्दै स्थानीय राजनीतिमा प्रभाव देखाइरहेका छन्। तर यदि उनले राष्ट्रिय राजनीति लक्षित गर्ने हो भने दल दर्ता अनिवार्य बन्नेछ। निर्वाचन आयोगको नियम अनुसार स्वतन्त्र उम्मेदवारका रूपमा पुनः निर्वाचनमा भाग लिन सकिए पनि राष्ट्रिय राजनीतिक दलहरूसँग प्रतिस्पर्धा गर्न लामो रणनीति आवश्यक हुन्छ।
बालेनका समर्थकहरुले सामाजिक सञ्जालमा उनलाई दल खोलेर राष्ट्रिय राजनीति गर्ने सुझाव दिइरहेका छन्। तर अर्कोतर्फ, केही समूहले बालेनको प्रभाव स्वतन्त्र छविमै बलियो हुने तर्क गर्दै दल नखोल्न सल्लाह दिएका छन्। निर्वाचन आयोगले दिएको समयसीमा अब एक महिनाभन्दा कम मात्र बाँकी छ। यस्तोमा बालेन शाहले कुन बाटो रोज्ने भन्नेबारे सबैको चासो बढेको छ।




