कोशी प्रदेश सरकारले हालैका दिनमा लगातार परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्णरूपमा क्षति पुगेका सबै घर पुनर्निर्माण गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी–पहिरोबाट विस्थापित भएका परिवारका आवासहरू पुनःनिर्माण गर्ने निर्णय गर्दै पुनर्स्थापना र राहत कार्यलाई तीव्र बनाउने प्रतिबद्धता जनाएको हो।

बैठकले सबैभन्दा बढी प्रभावित इलाम, झापा र मोरङ जिल्लाका घरहरूबाट पुनर्निर्माण कार्यको थालनी गरिने जनाएको छ। साथै, प्रभावित घरहरूको विस्तृत विवरण संकलन गर्ने कार्य पनि सँगसँगै अघि बढाइने बताइएको छ। बैठकमा प्रदेश सरकारका मन्त्रीहरू, सम्बन्धित मन्त्रालयका सचिवहरू, सुरक्षा निकायका प्रतिनिधि, प्राविधिक टोली र सरोकारवाला निकायहरू सहभागी थिए।

इलामका ७ स्थानीय तह संकटग्रस्त क्षेत्र सिफारिस

बैठकले बाढी–पहिरोबाट अत्यधिक प्रभावित इलाम जिल्लाका सातवटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ। राहत तथा पुनःस्थापनाको कार्यलाई प्रभावकारी रूपमा अघि बढाउन इलाम जिल्लामा तीन मन्त्रीहरूलाई विशेष जिम्मेवारी दिइएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना,

भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई, र

आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीलाई इलाम जिल्लाको समन्वयको जिम्मा दिइएको हो।

बजेट पुनरावलोकन, सडक खुलाउन निर्देशन

बैठकले चालु आर्थिक वर्षका योजनाहरूलाई पुनरावलोकन गरी आवश्यक बजेट कटौती गर्दै पुनर्निर्माणका लागि बजेट पुनःव्यवस्थापन गर्न प्रदेश सरकारलाई सिफारिस गरेको छ। त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयलाई सबै प्रकारका सडकहरू तत्काल सञ्चालनमा ल्याउन आफ्ना संयन्त्र परिचालन गर्न निर्देशन दिइएको छ। बैठकमा बाढी र पहिरोका कारण पूर्वी पहाडी जिल्लाहरूमा ठूलो मात्रामा भौतिक, सामाजिक र मानवीय क्षति भएको भन्दै राहत वितरण, संरचना मर्मत तथा दीर्घकालीन पूर्वाधार निर्माणमा समन्वयात्मक रूपमा अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय