काठमाडौं । सर्लाही प्रहरीले चौकीमा ढुंगामुढा गरी प्रहरीको दाँत भाचेको भन्दै गोडैता नगरपालिका–७ का वडाध्यक्षलाई पक्राउ गरिएको छ । गत असोज १७ गोडैता नगरपालिका–७ का वडाध्यक्ष छोटेलाल भनिने बिनेश कुमार दास लगायतकोे समुहले गोडैता प्रहरी चौकीमा ढुंगामुडा र बाँसको भाटा प्रहार गरेको प्रहरीको आरोप छ ।
घटनामा गम्भिर घाइते भएका प्रहरी चौकीका प्रहरी नायब निरीक्षक अवधेश प्रसाद यादवको जाहेरीको आधारमा प्रहरीले वडाध्यक्ष दासलाई पक्राउ गरेको हो ।वडाध्यक्ष दासविरुद्ध जिल्ला अदालत सर्लाहीले सोमबार मात्र पक्राउ पुर्जी जारी गरेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले दासलाई प्रहरीले बागमती नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय कर्मैयाबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले गत १७ गते साँझको समयमा दुर्गा पूजाको चन्दाको विषयमा गोडैता नगरपालिका–७ सडकमा स्थानीय कारिल यादवलाई गोडैता नगरपालिका–५ बस्ने अनिल राय यादव लगायतले कुटपिट गरेका थिए । घटनामा संलग्न अनिल रायलाई गोडैता प्रहरीले पक्राउ गरेको थियो ।
त्यसपछि एक्कासी कारिल यादव पक्षका वडाध्यक्ष दाश सहितका केही ब्यक्तिले प्रहरी चौकी माथि ढुङ्गामुडा तथा बाँसको भाटा प्रहार गरेका हुन् । घटनामा चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक यादवको मुखमा गहिरो चोट लागेको छ । ढुङ्गाले लागेर उनको अगाडिको दुई वटा दाँत भाच्चिनुका साथै चौकीमा कार्यरत अन्य ५ जना प्रहरी समेत घाईते भएका थियो ।
घाइते प्रहरी नायब निरीक्षक यादवको प्रतिवेदनको आधारमा वडाध्यक्ष दास घटनामा संलग्न देखीएको र उहाँ विरुद्ध कुटपिट अङ्गभङग, ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रव शीर्षकमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ । अदालतबाट घटना अनुसन्धानको लागि प्रहरीले तीन दिनको म्याद समेत थप गरेको जनाएको छ ।
यता वडाध्यक्ष दासलाई प्रहरीले राजनीतिक प्रतिशोध साधेर पक्राउ गरेको भन्दै गोडैतामा विरोध भएको छ । गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले वडाध्यक्षको बचाउ गर्दै उहाँ विरुद्ध झुटा मुद्दा दायर गरिएको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।
वडाध्यक्ष पक्राउ गरेको विरोधमा स्थानीय ब्यापारीहरूले समेत गोडैता बजार बन्द गराएका छन् । वडाध्यक्ष दासलाई बिनासर्त रिहाको मागसहित ब्यापारीहरूले बजार बन्द गरेका छन् ।




