काठमाडौं । असोज १७ र १८ को अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अधिकांश बाटो बगाएपछि आवागमनमा समस्या भएको छ । आजभोलि तराईका विभिन्न भाग र पूर्वी जिल्लाबाट आएका साना तथा ठूला सवारीसाधनहरू वैकल्पिक मार्गको प्रयोग गर्न थालेका छन् । यहाँ खुर्कोट, मन्थली, चरिकोट, मुडे, खाडिचउर हुँदै दोललघाटको वैकल्पिक सडक प्रयोग हुन थालेको छ ।
सवारी अवागमनलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले मन्थलीस्थित देवकोटा चोकबाट प्रहरी कार्यालय हुँदै बसपार्क निस्केर काठमाडौं पठाउने र उताबाट आउने सवारीसाधनलाई बसपार्कबाट कटहरबोट चोक हुँदै देवकोटा चोकमा निस्कने गरी एकतर्फी यातायात संचालन गरेको छ ।



बिपी राजमार्ग हुँदै तराईका विभिन्न भागदेखि पूर्वको कोशी प्रदेशका अधिकांश जिल्ला र काठमाडौं आउजाउ गर्ने सवारीसाधनले वैकल्पिक मार्गका रूपमा यो सडक प्रयोग गर्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




