काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ का समाजसेवी श्रीराम थापाले राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरलाई आर्थिक सहयोग गर्नुभएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ को वडा कार्यालय परिसरमा गरिएको कार्यक्रममा आविष्कार केन्द्रका महानिर्देशक संजय झालाई थापाले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

थापाले आफुले आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनलाई नै रकम हस्तान्तरण गर्न खोजेपनि नेपालको पछिल्लो राजनीतिक परिस्थितिका कारण सम्भव नभएपछि केन्द्रको तर्फबाट प्रतिनिधित्व गर्दै आउनु भएका केन्द्रका महानिर्देशक संजय झालाई हस्तान्तरण गरेको बताउनु भयो । उहाँले जुन हिसाबमा आविष्कार केन्द्रलाई सरकारले सहयोग गरी अघि बढाउनु पर्ने थियो त्यसो नगरेको र पुनले आफ्नो बलबुताले केन्द्रलाई स्वदेशमा मात्र नभई विदेशमा पनि चिनाउन सफल भएको भन्दै थोरै थोरै गरेर धेरै हुने हुँदा आफुले पनि थोरै सहयोग गर्न पाउँदा खुशी लागेको बताउनु भयो । उहाँले नेपालमा भएका कलकारखाना र उद्योगहरु धरासायी हुँदा रोजगारीको सिर्जना बन्न नसक्दा युवाहरु विदेशीन बाध्य भएकोले युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्ने वातावरण बनाउनको लागि केही टेवा पुगोस् भन्ने उद्देश्यले ५१ हजार १ सय ५५ रुपैयाँ केन्द्रलाई सहयोग सहयोग गरेको बताउनु भयो ।

कार्यक्रममा आविष्कार केन्द्रका महानिर्देशक संजय झाले चन्द्रागिरि नगरपालिका आफ्नो लागि कुनै नयाँ ठाउँ नभएको र विगत केही वर्ष अघि यहीँ आफ्नो कर्म क्षेत्र भएको स्मरण गर्नुभयो । उहाँले आफु आविष्कार केन्द्रमा विगत ३ वर्षदेखि आवद्ध रहेको र अहिले महावीर पुन मन्त्री हुनुभएपछि उहाँको सम्पूर्ण जिम्मेवारी आफुले हेरिरहेको र विगत केही वर्षदेखि यहाँका स्थानीयसँग भेटघाट गर्ने मौका नमिलेको र अहिले समाजसेवी श्रीराम थापाका कारण भेटघाट हुन पाएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।

झाले दुरदराजका यूवाले आफ्नो प्रतिभालाई खुम्च्याएर बस्नुपर्ने बाध्यता, त्यस्ता प्रतिभाशाली व्यक्तिहरुलाई राष्ट्रिय आविश्कार केन्द्रले खोजेर उनीहरुको क्षमता विकासको लागि सहजीकरण गर्दै आएको बताउनु भयो । आविश्कार केन्द्रले ती युवाहरुलाई बस्ने, खानेदेखि सम्पूर्ण व्यवस्था गर्दै आएको पनि जानकारी गराउनु भयो । उहाँले ती युवाहरुले काम सिकेपछि त्यही रोजगारीको व्यवस्था गर्ने वा बाहिर छुट्टै काम गर्छु भन्दा पनि केन्द्रले सहजीकरण गर्दै आएको बताउनु भयो । उहाँले नेपालका सिर्जनशील युवाहरुको सपनालाई साकार बनाउन केन्द्रले सहजीकरण गर्ने र त्यस्तो सहजीकरणको अर्को पाटो श्रीराम थापाले गर्नुभएकोले आविश्कार केन्द्रको तर्फबाट आभार व्यक्त गर्नुभयो । उहाँले आविष्कार केन्द्रलाई सहयोग गर्नुभएको रकमको एक–एक हिसाब हुने र आममानिस सबैले उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आविष्कार केन्द्र आज यहाँसम्म आउनुमा थापा जस्ता समाजसेवीको ठूलो योगदान रहेको भन्दै राज्यबाट केही सहयोग नपाए पनि जनताको मूल्यांकनले महावीर पुन अहिले मन्त्री बन्न सफल हुनुभएको उल्लेख गर्नुभयो ।

यस्तै कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका वडा अध्यक्ष संजय सिग्देलले राष्ट्रिय आविस्कार केन्द्र अघि बढोस् र यूवाहरुलाई रोजगारीको सिर्जना होस् भन्ने उद्देश्यले समाजसेवी श्रीराम थापाले आविष्कार केन्द्रलाई सहयोग गर्नुभएको बताउनु भयो । उहाँले सहयोग गर्नुभएको रकम पारदर्शी ढंगले प्रयोगमा आउँछ र जुन उद्देश्यका लागि सहयोग गरिएको हो सोही काममा प्रयोग हुनेमा आफु आशावादी रहेको उल्लेख गर्नुभयो । नेपालमा केही दिनअघि भएको आन्दोलनको क्रममा क्षति भएका संरचना पुनःर्निर्माणको लागि सहयोग रकम केही भरथेग हुने पनि उल्लेख गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, बुद्धिजिवि, स्थानीयलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय