काठमाडौं । गत असोज १८ र १९ गतेको अविरल वर्षाका कारण रोशी खोलाको बाढीले बीपी राजमार्ग क्षतिग्रस्त बनायो । खोलाले राजमार्ग मात्र क्षति पुर्याएन केही स्थानमा पैदल हिड्न समेत कष्टकर हुने गरी बाटो नै बगायो । रोशीका विभिन्न वडामा दशैं मनाउन घर पुगेका यात्रुहरु सडक बगाएर यातायातका साधनमा त आउन पाएनन तर उनीहरु हिड्न समेत भिरपाखा, खोला, खोल्साबाट यात्रागर्न बाध्य हुन पर्यो ।

सिन्धुलीलगायत पूर्वी नाकाबाट आएका सवारीलाई त बैकल्पिक रुपमा संचालन भए तर जहाँ रोशीले क्षतविक्षत बनाएको बीपी राजमार्ग क्षेत्रका स्थानीय भने पैदलै हिड्न पनि कष्टकर यात्रा गर्नुपर्ने बाध्यतामा पुगे । अन्य जिल्लाबाट आएकाहरुलाई वैकल्पिक मार्ग प्रयोग गर्न भने पनि काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीका यात्रुलाई भने चौकीडाँडासम्मै पैदल हिँड्नुपर्ने बाध्यता छ । विशेषगरी बीपी राजमार्गको चोकीडाँडा नेपालथोक खण्डका यात्रु तथा काभ्रेकै रोशी, महाभारत, नमोबुद्ध र तेमालका केही वडा तथा सिन्धुलीका घ्याङलेक, केही पालिकाबाट बनेपा, भक्तपुर काठमाडौं आउने पैदलयात्रीलाई समस्या परेको छ । जाने बेलामा बीपी राजमार्ग हुँदै गएका उनीहरु आउने बेलामा ग्रामीण सडकसमेत अवरुद्ध हुँदा आफुले लगेका आफ्ना सवारी समेत घरमै राखेर पैदल आइरहेका छन् ।

अहिले बीपी राजमार्गको धुलिखेल–चौकीडाँडा सार्वजनिक यातायात सञ्चालनमा भएपनि त्यहाँभन्दा तलका स्थानीय पैदलै हिड्नुपर्ने बाध्यता भएको छ । रोशीका विभिन्न स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले पैदल हिँड्नेलाई सहयोग गरिरहेका छन् । बाटो बनाउने, विरामीलाई स्ट्रेचरमा बोकेर ल्याउने काममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सहयोग गरिरहेको छ । विशेषगरी दशैंको टीका लगाउन आफ्नो थातथलो गएकाहरूले सहर फर्कन कष्टकर यात्रा गर्नुपरेको छ । दैनिक त्यस रुटबाट ३ सय देखि ४ सयको हाराहारीमा यात्रुहरु हिडिरहेका छन् । गत तीन दिनमा १२ देखि १३ सय यात्रु हिडिसकेका छन् ।

बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरुपमा बन्द छ । बढीपहिरोले राजमार्गको १९ स्थानमा क्षति पुर्याएको छ । क्षतिग्रस्त राजमार्गमा पुनः अस्थायी सडक–डाइभर्सन बनाउन सुरु गरिएको छ । बहाब कम हुँदै गएपछि मंगलबारदेखि डाइभर्सन बनाउन सुरु गरिए पनि हालसम्म कुनै स्थानमा पनि डाइभर्सन निर्माण हुन सकेको छैन । धेरै स्थानमा खोला एकतर्फी फर्काएर पुनः डाईभर्सन गर्नुपर्ने भएकोले समय लाग्ने सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

गतवर्ष असोजको बाढीपहिरोले क्षतिग्रस्त सडक डाईभर्सन गरी अस्थायी रुपमा संचालनमा आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय