नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले इलाममा बाढी–पहिरोबाट प्रभावित नागरिकहरूलाई शीघ्र राहत, उद्धार तथा पुनस्र्थापनाको कामलाई तीव्रता दिन सरकारसँग आग्रह गरेका गर्नुभएको छ । आज इलाम आइपुग्नु भएका उहाँले गत असोज १८ गतेको भीषण वर्षा, त्यसपछि आएको बाढी र पहिरोले इलाममा व्यापक जनधनको क्षति भएको स्मरण गराउँदै अहिलेसम्म सबै प्रभावितसम्म राहत नपुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । महामन्त्री शर्माले जोखिमको घडीमा सरकार प्रत्यक्ष रूपमा उपस्थित हुनुपर्ने भन्दै संघीय सरकारको भूमिकाप्रति प्रश्न उठाउनुभयो । इलामको विपदमा स्थानीय तहले गरेको प्रयास सहयोगयोग्य छ, तर केन्द्र सरकार कहिले भेटिने रु संकटमा ‘सरकार छ’ भन्ने अनुभूति नागरिकले पाउनुपर्छ । काँग्रेस यस कार्यमा साथ र सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो । अहिले उद्धार र राहतमा सक्रिय स्थानीय तहलाई थप स्रोत तथा संरचनात्मक सहयोग उपलब्ध गराउन केन्द्र सरकारले जिम्मेवारी लिनुपर्ने आवश्यकता रहेको शर्माको भनाई छ ।
फरक प्रसंगमा शर्माले मंसिरमा बस्ने पार्टीको केन्द्रीय समिति बैठकले नियमित महाधिवेशनको मिति निर्धारण गर्ने सम्भावना रहेको जनाउँदै यदि नियमित महाधिवेशन हुन नसक्ने अवस्था आयो भने विशेष महाधिवेशनमा जानुको बिकल्प नभएको बताउनुभयो । ५४ प्रतिशत हस्ताक्षरलाई ध्यानमा राखेर निर्णय हुन सक्ने बताउनुभयो । सभापति शेरबहादुर देउवाले जिम्मेवारी हस्तान्तरण गरेर ‘महानता’ देखाएको’ जनाउनुभयो । तर शर्माले सभापति देउवाका सामु सुवर्ण अवसर रहेको उल्लेख गर्दै मंसिर मसान्तसम्म विशेष महाधिवेशनको उदघाटन गर्न चाहन्छु भन्नुहुनेछ भन्ने आफूलाई लागेको बताउनुभयो ।



शर्माको अभिव्यक्तिले पार्टीभित्र चलिरहेको नेतृत्व परिवर्तनको सम्भावनालाई थप चर्चा र बहसको केन्द्रमा ल्याएको छ । यसैबीच महामन्त्री शर्मा इलाम आगमनका क्रममा गत भदौ २४ गते ‘जेनजी आन्दोलन’ का क्रममा इलामको नेपाली काँग्रेसको पार्टी कार्यालयमा भएको तोडफोडको अवलोकन समेत गर्नुभएको थियो । शर्माले इलाम आगमनको क्रममा पार्टीका जिल्ला स्तरका नेता तथा कार्यकर्तासंग भेटघाट समेत गर्नुभएको थियो ।




