अष्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिका तथा तथा किशोर किशोरीलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागेको छ ।विश्वकै प्रथम भनिएको १६ वर्ष मुनि उमेर समूहकालाई १० वटा सञ्जाल प्रयोगमा प्रतिबन्धको निर्णय आजदेखि कार्यान्वयनमा आएको हो । फेसबुक, इन्स्टाग्राम, टिकटक, युट्युब, एक्स, थ्रेड, स्न्यापच्याट, रेडिट, ट्वीच र किकजस्ता सञ्जालले अब नयाँ कानुनको पालना गर्नुपर्नेछ । सरकारले बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउने उद्देश्य राखिएको बताएको छ । तर आलोचकहरूले यसबाट किशोर किशोरीहरू एक्लिने अनि नियमन नभएका इन्टरनेटका अन्य सामग्रीतर्फ धकेलिने खतरा रहेको बताए ।
प्रधानमन्त्री एन्थनी अल्बानेजले आजको दिन आफूलाई देशको प्रधानमन्त्री भएकोमा गर्वको अनुभव भएको बताएका छन् । अष्ट्रेलियामा इन्टरनेट नियमन गर्ने जिम्मा पाएको ई(सेफ्टीकी प्रमुख जुली इन्मान ग्रान्टले भोलिदेखि नै निगरानी गरिने बताइन् । अब व्यवस्था कार्यान्वयन नभए त्यस्ता बालबालिका तथा अभिभावकलाई सजाय नहुने तर कम्पनीमाथि कारबाही हुनेछ । सञ्जालमा बालबालिकालाई पहुँच भए झण्डै ५ करोड अष्ट्रेलियन डलरसम्म जरिवाना लाग्नेछ । त्यस्तै सञ्जालहरूले नयाँ खाता लागि प्रयोगकर्ताका लागि उमेरसँगै सेल्फीमार्फत उमेर अनुमानजस्ता विधि प्रयोग गर्ने सरकारले बताएको छ । आवश्यक परे परिचयपत्र र बैंक विवरणजस्ता कडा प्रमाण पनि माग्न सकिने उल्लेख छ । बालबालिकाको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालका नकारात्मक असर, गलत सूचना, बदमासी र शरीरबारे हानिकारक सामग्रीका कारण सरकार वर्षभरिको बहसपछि कडा कानुनमा पुगेको हो ।







