फेसबुकको युजर इन्टरफेस पछिल्ला दिनहरूमा तीव्रगतिमा परिवर्तन हुँदै गएको छ। विशेषगरी न्यूजफिड अब धेरै हदसम्म इन्स्टाग्रामजस्तै अनुभव दिने बनाइएको देखिन्छ। उदाहरणका लागि, तस्वीरमा डबल–ट्याप गर्दा लाइक हुनुपर्ने सुविधा वा कसले रियाक्सन दियो भन्ने प्रोफाइल फोटो पोस्टमै देखिने विकल्प थपिएको छ।

मेटा (Meta) ले यी अपडेटहरू मुख्यत: जेन–जेड प्रयोगकर्तालाई आकर्षित गर्न गरेको बुझिन्छ, किनकि युवापुस्तामध्ये इन्स्टाग्राम अत्यन्त लोकप्रिय छ। यही लोकप्रियता फेसबुकमा पनि ल्याउने उद्देश्यले एपको इन्टरफेस र फिचरहरू क्रमश: पुन: डिजाइन गरिँदैछन्। सीईओ मार्क जुकरबर्गको योजना अनुसार फेसबुकलाई अझ आकर्षक र आधुनिक बनाउने क्रममा विभिन्न भिजुअल र इन्टरएक्शन अपडेटहरू सार्वजनिक गरिएको छ।

द भर्जका रिपोर्टअनुसार, नयाँ परिवर्तनहरूले फेसबुकमा फोटो हेर्ने र अन्तरक्रिया गर्ने शैलीलाई इन्स्टाग्रामको महसुस दिलाउनेछ। धेरै फोटो एउटै पोस्टमा राख्दा अब तिनीहरू ग्रिड लेआउटमा देखिनेछन्। त्यस्तै, तस्वीरमा डबल–ट्याप गरेर लाइक गर्ने सुविधा पनि सक्रिय गरिएको छ। स्टोरी र फिड पोस्ट बनाउन प्रयोग हुने टुलहरू—जस्तै म्युजिक एड, ट्याग, लोकेसन—अब सजिलै भेटिने ठाउँमा सारिएका छन्। खोज परिणाम (Search) मा पनि सबै प्रकारका कन्टेन्ट व्यवस्थित देखिने इमर्सिभ ग्रिड लेआउट ल्याइँदैछ। फुलस्क्रिनमा फोटो वा भिडियो हेर्दा सर्च गरेको स्थान नहराउने फिचरको परीक्षण पनि भइरहेको छ।

फिडमा देखिएको सामग्री मन नपरेमा अब प्रयोगकर्ताले प्रत्यक्ष फिडब्याक दिन सक्ने भएका छन्। साथै, इन्स्टाग्राम र थ्रेड्समा जस्तै फेसबुकमा पनि आफ्नो रुचिअनुसार फिड एल्गोरिदमलाई निर्देशित गर्न सकिने नयाँ सुविधा केही महिनामा सार्वजनिक हुने बताइएको छ।

यसैगरी, मेनु डिजाइन, कमेन्टिङ अनुभव, र अन्य इन्टरफेसहरूलाई पनि थप सरल बनाइएको छ। मेटाको भनाइमा यी सबै परिवर्तनहरू पूर्वावलोकन मात्र हुन् र आगामी वर्ष थप महत्वपूर्ण अपडेट आउनेछन्।

फेसबुकमा पोस्ट बनाउने इन्टरफेस पनि अहिले भिन्न देखिन्छ। नयाँ पोस्ट अपलोड गर्ने क्रममा माथिपट्टि Music, People, Location, Feeling/Activity, Album जस्ता विकल्प देखिन्छन्। त्यसको तल ग्यालरी, GIF, Life Event, र Live जस्ता टुलहरू राखिएका छन्। यिनै विकल्पसहित अब पोस्टको प्राइभेसी सेटिङ नजिकै इन्स्टाग्राम र थ्रेड्समा पनि एउटै पोस्ट शेयर गर्ने सुविधा उपलब्ध छ, जसले एउटै सामग्री तीनै प्लेटफर्ममा एकैचोटि पोस्ट गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय