काठमाडौं । बुढानीलकण्ठको नगर अस्पतालले आफ्नो सेवा विस्तार गरी दैनिक तीन सयसम्म बिरामीलाई उपचार गर्न थालेको छ । डेढ वर्षअघि तीन जनाको उपचारबाट सेवा सुरु गरेको यस अस्पतालमा अहिले सेवा विस्तार गरी बर्थिङ सेन्टरको पनि सुरुआत गरिएको छ ।



बुढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले बहिरङ्ग सेवाबाट तीन जनाको उपचार गरेर अस्पताल सञ्चालनको सुरुआत गरे पनि अहिले सेवा विस्तार गरिएको जानकारी दिनुभयो ।
अस्पताल २०८१ वैशाखदेखि सञ्चालनमा आएको हो । संघ, प्रदेश र नगरपालिकाको आन्तरिक स्रोतबाट अस्पताल निर्माण गरिएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । थप सेवा विस्तार गर्न मेडिकल सामग्री खरिद प्रक्रियामा रहेको पनि उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी, नगरपालिकाका उपप्रमुख अनिता लामाले बर्थिङ सेन्टरको सुरुआतले मातृशिशु स्वाथ्यमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो ।
नगरपालिकाका प्रशासकीय अधिकृत गोपाल पोखरेले सेवा लिने नागरिकको संख्या बढेसँगै अस्पतालको आम्दानी समेत बढेको र गत आर्थिक वर्षमा अस्पतालले एक करोड १७ लाख रुपैयाँ आम्दानी गरेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको पाँच महिनामै एक करोड ८० लाख रुपैयाँ आम्दानी गरिसकेको समेत जानकारी गराउनु भयो ।




