बर्दिया, राजापुर नगरपालिका–४ स्थित ‘हमार थारु घर’ रेष्टुरेन्टमा अन्दाजी १९ वर्षीय निरज चौधरीको गोली प्रहार गरी हत्या गरेको घटनाका मुख्य आरोपी महावीर चौधरीलाई प्रहरीले कैलालीबाट पक्राउ गरेको छ। मंसिर २१ गते बिहान करिब ८:३० बजे रेष्टुरेन्टभित्र गोली हानिएका निरजलाई एम्बुलेन्समार्फत नेपालगञ्जको सञ्जिवनी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। घटनापछि फरार रहेका महावीरलाई मंसिर २५ गते कैलारी गाउँपालिका–२ मझरा गाउँबाट नियन्त्रणमा लिईएको हो।

प्रारम्भिक अनुसन्धानमा घटनास्थलबाट KF 7.65 लिखिएको एक खोका बरामद भएको प्रहरीले जनाएको छ। साथै रेष्टुरेन्टका सञ्चालक बुद्धि प्रसाद थारुले प्रमाण नष्ट गर्न पानी र खरानी हालेको खुल्दै आएपछि उनी र उनका छोरा राहुल थारुलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरू गरेको छ।

महावीरले प्रयोग गरेको पिस्तोल दाङका करण थारुबाट प्राप्त गरेको बताउँदै घटना दुर्घटनावश भएको बयान दिएका छन्। उनका अनुसार हतियार समाउँदै गर्दा ट्रिगर थिचिएर गोली चलेको र त्यसपछि घाइतेलाई एम्बुलेन्समा पठाएर आफू कैलालीतर्फ भागेको खुलाएको छ।

उनको बसोबासस्थल राजापुर–४ भिम्मापुरस्थित कोठाबाट प्रहरी टोलीले लाइसेन्स, आधार कार्ड, राहदानी, लैपटप, पेन्ड्राइभ, थार गाडीलगायतका सामग्री बरामद गरेको छ। साथै उनले लुकाएर राखेको हतियार र मोटरसाइकल समेत प्रहरीद्वारा फेला पारिएको छ।

मृतकको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ। जिल्ला अदालत बर्दियाबाट ७ दिनको म्याद थप गरी प्रहरी घटनाबारे थप अनुसन्धानमा जुटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय